त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि (पीएचडी) तहको अध्ययन हुने भएको छ। त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र सङ्कायको विद्यापरिषद् बैठकले मानविकी सङ्काय अन्तर्गत संस्कृत विषयमा विद्यावारिधि प्रदान गर्ने निर्णय गरेको सङ्कायका सहायक डीन वामदेव अधिकारीले जानकारी दिएका छन्।
उनका अनुसार मानविकी सङ्कायका सबै परीक्षाका नतिजा एक सय दिनभित्र प्रकाशित गर्ने निर्णयसमेत गरिएको छ।यसैबीच त्रिविले आमसञ्चार तथा पत्रकारिता विषयअन्तर्गत रङ्गमञ्च कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको सहायक डीन अधिकारीले बताए।
त्यस्तै नव क्षितिज कलेज, बर्दिवास (महोत्तरी) को सम्बन्धन खारेज गर्ने निर्णय गरिएको छ। साथै रत्न राज्यलक्ष्मी क्याम्पस, प्रदर्शनीमार्गलाई आमसञ्चार तथा पत्रकारिता विषयमा तथा सरस्वती क्याम्पस, ठमेललाई राजनीति शास्त्र विषयमा स्नातकोत्तर तह अध्यापनको अनुमति दिने निर्णयसमेत गरिएको छ।

Online Arthik









