सिटी एक्सप्रेस मनी ट्रान्सफर प्राइभेट लिमिटेडको व्यापार पछिल्ला वर्षहरूमा निरन्तर घट्दै गएको छ । कम्पनीको सन् २०२६ को अपरिष्कृत वित्तीय विवरणअनुसार व्यापार ५६ करोड १० लाख रुपैयाँमा सीमित भएको छ । कम्पनीले सन् २०२५ मा ५६ करोड ७० लाख रुपैयाँ, सन् २०२४ मा ६६ करोड ४० लाख रुपैयाँ, सन् २०२३ मा ७६ करोड ८० लाख रुपैयाँ र सन् २०२२ मा ८२ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो ।
कम्पनीको आम्दानी घट्नुमा बढ्दो प्रतिस्पर्धा, आन्तरिक रेमिट्यान्स कारोबारसम्बन्धी नियामकीय प्रतिबन्ध तथा नगद कारोबारको सट्टा रकम सीधै बैंक खातामा जम्मा गर्ने प्रवृत्ति बढ्नु प्रमुख कारण रहेको रेटिङ प्रतिवेदनमा उल्लेख छ । बैंक खातामा सीधै रकम जम्मा गर्ने प्रणालीले सेवाग्राहीलाई सहजता प्रदान गरे पनि कम्पनीले प्राप्त गर्ने कमिसन आम्दानीमा दबाब सिर्जना गरेको प्रतिवेदनले जनाएको छ । साथै, सन् २०२६ को वित्तीय विवरण लेखापरीक्षण नभएको उल्लेख गरिएको छ । सन् २०२६ मा कम्पनीको कुल आम्दानीमध्ये २६ प्रतिशत कमिसनबाट र ७४ प्रतिशत विदेशी मुद्रा विनिमयबाट प्राप्त भएको छ । व्यापार तथा आम्दानीमा गिरावट आए पनि कम्पनीको सञ्चालन नाफा मार्जिनमा भने सुधार देखिएको छ । सन् २०२५ मा २३.७९ प्रतिशत रहेको सञ्चालन नाफा मार्जिन सन् २०२६ मा बढेर २७.६५ प्रतिशत पुगेको छ । यद्यपि, सन् २०२४ मा यो सूचक ३६.३८ प्रतिशत रहेको थियो । सञ्चालन नाफा मार्जिनमा भएको सुधारले आम्दानी घटिरहेको अवस्थामा पनि कम्पनीले सञ्चालन खर्च व्यवस्थापनमा केही सुधार गरेको संकेत गर्छ ।रेटिङ प्रतिवेदनअनुसार कम्पनीको ऋण भुक्तानी क्षमता सन्तोषजनक रहेको छ । सन् २०२५ मा कम्पनीको ऋण सेवा भुक्तानी अनुपात (डीएससीआर) ४.२९ गुणा र ब्याज भुक्तानी क्षमता अनुपात ४.०० गुणा रहेको थियो । अघिल्लो आर्थिक वर्षमा यी अनुपात क्रमशः ६.०६ गुणा र ५.०४ गुणा थिए । वित्तीय लागत बढेका कारण यी सूचकमा गिरावट आए पनि कम्पनीको ऋण तथा ब्याज भुक्तानी क्षमता पर्याप्त रहेको प्रतिवेदनमा उल्लेख छ ।त्यस्तै, कम्पनीको चालु अनुपात सन् २०२५ मा ०.९८ गुणा रहेकोमा सन् २०२६ मा बढेर १.०५ गुणा पुगेको छ । कम्पनीको समग्र गियरिङ अनुपात शून्य रहेको प्रतिवेदनमा उल्लेख छ । कुल बाह्य दायित्व र मूर्त नेटवर्थको अनुपात भने सन् २०२५ को ४.०० गुणाबाट घटेर सन् २०२६ मा ३.४४ गुणामा झरेको छ । कम्पनीले एक अर्ब रुपैयाँसम्मको अल्पकालीन बैंकिङ सुविधाका लागि ‘एटुप्लस’ क्रेडिट रेटिङ प्राप्त गरेको छ । उक्त रेटिङले कम्पनीको अल्पकालीन वित्तीय दायित्व पूरा गर्ने क्षमताको मूल्याङ्कन गर्छ ।नेपालको रेमिट्यान्स क्षेत्रमा १९ वर्षभन्दा लामो अनुभव रहेको सिटी एक्सप्रेसले देशभर २५ हजारभन्दा बढी एजेन्टमार्फत सेवा प्रदान गर्दै आएको छ । रेटिङ प्रतिवेदनअनुसार नेपाल भित्रिने रेमिट्यान्स कारोबारमा कम्पनीको बजार हिस्सा १४ प्रतिशत रहेको छ । सन् २००७ जुलाई ११ मा स्थापना भएको सिटी एक्सप्रेस नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त रेमिट्यान्स कम्पनी हो । कम्पनीले विभिन्न देश तथा मुद्रामा आधारित अन्तर्राष्ट्रिय साझेदारीमार्फत नेपालमा विप्रेषण सेवा प्रदान गर्दै आएको छ । सन् २०२६ जुलाई मध्यसम्म कम्पनीको चुक्ता पुँजी ५० करोड रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ ।
सिटी एक्सप्रेसले रेमिट्यान्स व्यवसायसँग सम्बन्धित अन्य वित्तीय तथा प्रविधि क्षेत्रमा समेत लगानी विस्तार गरेको छ । कम्पनीले स्मार्ट च्वाइस टेक्नोलोजिज प्राइभेट लिमिटेडमा ८ करोड ७२ लाख रुपैयाँ र सिटी वालेट प्राइभेट लिमिटेडमा १० करोड रुपैयाँ लगानी गरेको प्रतिवेदनमा उल्लेख छ । कम्पनी विविध व्यवसायमा संलग्न सिटी एक्सप्रेस ग्रुपको एक हिस्सा हो । यसको मुख्य कार्यालय काठमाडौंको कमलादीमा रहेको छ । कम्पनीको शेयर स्वामित्वमा डोलराज शर्मा, चन्द्र तण्डन, हेमबहादुर गुरुङ र महेश कुमार श्रेष्ठको जनही २० प्रतिशत हिस्सा रहेको छ । त्यस्तै, सुनील पानी गौतमको १५.५० प्रतिशत र कृष्णराज पौडेलको ४.५० प्रतिशत शेयर स्वामित्व रहेको प्रतिवेदनमा उल्लेख छ ।

Online Arthik









