ग्लोबल आइएमई बैंक लिमिटेडले प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ बाट प्रदान गरिने ‘बेस्ट बैंक अवार्ड २०२६’ प्राप्त गरेको छ। यससँगै बैंकले लगातार तेस्रो वर्ष नेपालकै उत्कृष्ट बैंकको उपाधि हासिल गरेको हो। बैंकले यसअघि सन् २०२४ र २०२५ मा पनि उक्त सम्मान प्राप्त गरेको थियो।
थाइल्यान्डको राजधानी बैंककमा आयोजित विशेष समारोहमा ग्लोबल फाइनान्सका प्रतिनिधिले बैंकका नायब प्रमुख कार्यकारी अधिकृतद्वय सुमन पोखरेल र दीपचन्द्र रेग्मीलाई अवार्ड हस्तान्तरण गरेका थिए। ग्लोबल फाइनान्सले बैंकको वित्तीय स्रोत परिचालन क्षमता, संस्थागत विश्वसनीयता, भौगोलिक तथा डिजिटल पहुँच विस्तार, रणनीतिक साझेदारी, ग्राहकमैत्री नवप्रवर्तन, आधुनिक प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) को प्रयोग, दिगो कर्जा प्रवाह र जोखिम व्यवस्थापनलगायतका आधारमा मूल्याङ्कन गरी उक्त सम्मान प्रदान गरेको जनाएको छ। समारोहमा एसिया–प्रशान्त क्षेत्रसहित विश्वभरका प्रमुख वित्तीय संस्थालाई विभिन्न विधामा सम्मान गरिएको थियो। सम्मानित हुने संस्थामा हङकङको बैंक अफ चाइना, भारतको स्टेट बैंक अफ इन्डिया, चीनको आइसीबीसी, मलेसियाको यूओबी मलेसिया, बंगलादेशको सिटी बैंक र जापानको एमयूएफजी बैंकलगायत रहेका थिए। ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको उक्त प्रतिष्ठित अवार्ड प्राप्त गर्ने पहिलो नेपाली बैंक हो। बैंकले यस सम्मानले ग्राहकलाई अझ उत्कृष्ट सेवा प्रदान गर्न थप प्रोत्साहन मिलेको जनाएको छ। साथै, बैंकको प्रगतिमा योगदान पुर्याउने नेपाल सरकार, नेपाल राष्ट्र बैंकलगायत नियामक निकाय, सेयरधनी, कर्मचारी तथा ग्राहकप्रति आभार व्यक्त गरेको छ।
बैंकले यसअघि ‘बैंक अफ द इयर २०१४’, ‘बेस्ट इन्टरनेट बैंक २०१६’, युरोमनी अवार्ड फर एक्सिलेन्स सन् २०२२, २०२४ र २०२५ तथा ‘बेस्ट बैंक ईएसजी नेपाल २०२४’ लगायतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरिसकेको छ। आधुनिक प्रविधिको प्रयोग, डिजिटल बैंकिङ विस्तार र ग्राहक सेवामा जोड दिँदै आएको बैंकले विभिन्न विधामा अन्तर्राष्ट्रिय पहिचान स्थापित गर्दै आएको छ।

Online Arthik









