राउन्ड टेबल नेपालले छैटौँ संस्करणको इन्डोर कर्पोरेट क्रिकेट प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ। प्रतियोगिता आउँदो मे १, २ र ३ गते काठमाडौंको बूढानीलकण्ठस्थित भेलोसिटी ग्राउन्डमा सञ्चालन हुनेछ। प्रतियोगितामा विभिन्न अग्रणी कर्पोरेट संस्थाहरूको सहभागिता रहनेछ, जसमा डग्मा ग्रुप, जगदम्बा मोटर्स, नबिल बैंक, प्राइम कमर्सियल बैंक, ग्लोबल आइएमई बैंक, नेपाल एसबिआई बैंक, नेपाल लाइफ इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल, रमेश कर्प, हिमालयन एभरेस्ट इन्स्योरेन्स, महालक्ष्मी विकास बैंक तथा साबिक विजेता क्लाउडफ्याक्ट्री गरी १२ टोली सहभागी हुनेछन्। प्रतियोगिताको मुख्य प्रायोजक सन नेपाल लाइफ इन्स्योरेन्स रहेको छ।
आयोजकका अनुसार, प्रतियोगिताको उद्देश्य कर्पोरेट क्षेत्रभित्र सहकार्य, आपसी सम्बन्ध विस्तार तथा खेलकुदमार्फत कार्य–जीवन सन्तुलनलाई प्रोत्साहन गर्नु हो। राउन्ड टेबल नेपालले शिक्षा, स्वास्थ्य तथा सामुदायिक विकासका क्षेत्रमा सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। संस्थाका प्रतिनिधिहरूले प्रतियोगिता केवल क्रिकेटमा सीमित नभई साझा उद्देश्यका लागि मानिसहरूलाई एकत्रित गर्ने प्रभावकारी माध्यम भएको उल्लेख गरेका छन्। प्रतियोगिता सफल बनाउन सहयोग पुर्याएकोमा मुख्य प्रायोजकप्रति आयोजकले आभार व्यक्त गर्दै यस कार्यक्रमले प्रतिस्पर्धा, सहकार्य तथा सामाजिक उत्तरदायित्वबीच सशक्त समन्वय प्रस्तुत गर्ने विश्वास व्यक्त गरेको छ।

Online Arthik










