सिटिजन्स क्यापिटल लिमिटेडले व्यवस्थापन गर्दै आएको खुलामुखी म्युचुअल फण्ड योजना “सिटिजन्स सदाबहार योजना” मा लगानीकर्तालाई थप सहज, छिटो तथा प्रविधिमैत्री सेवा प्रदान गर्ने उद्देश्यले अनलाइन दर्ता तथा कारोबार प्रणाली सञ्चालनमा ल्याएको छ।

नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त उक्त प्रणालीमार्फत हालका तथा नयाँ लगानीकर्ताले डिजिटल माध्यमबाट योजनासम्बन्धी विभिन्न सेवा सहज रूपमा प्राप्त गर्न सक्नेछन्। कम्पनीका अनुसार यसले लगानी प्रक्रियालाई थप सरल, सुरक्षित र प्रभावकारी बनाउनेछ।नयाँ अनलाइन प्रणालीमार्फत लगानीकर्ताले योजना इकाइ खरिदका लागि आवेदन तथा रकम भुक्तानी, व्यवस्थित लगानी योजना (एसआईपी) मा दर्ता, एसआईपी किस्ता भुक्तानी, लाभांश पुनःलगानी योजना (डीआरआईपी) मा आबद्धता तथा अनलाइन लगइन र लगआउट लगायतका सेवा प्राप्त गर्न सक्नेछन्।कम्पनीले यो सेवा २४सै घण्टा र सातै दिन उपलब्ध हुने जनाएको छ। यसबाट लगानीकर्ताले कार्यालय समय वा भौगोलिक दूरीको सीमाबिना जहाँसुकैबाट योजनासम्बन्धी सेवा लिन सक्नेछन्। साथै, लगानी प्रक्रिया थप छिटो, सुरक्षित, पारदर्शी तथा प्रयोगकर्तामैत्री बन्ने अपेक्षा गरिएको छ।सिटिजन्स क्यापिटलले डिजिटल वित्तीय सेवाको विस्तार, लगानीकर्ताको पहुँच अभिवृद्धि तथा पूँजी बजारमा सहभागिता बढाउने रणनीतिअनुरूप यो प्रणाली सञ्चालनमा ल्याएको जनाएको छ। कम्पनीले आगामी दिनमा पनि प्रविधिमार्फत थप नवीन, सहज तथा गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ।कम्पनीले “नेपालको प्रत्येक घरमा व्यवस्थित लगानीको पहुँच” विस्तार गर्ने लक्ष्यका साथ एसआईपीमार्फत लगानीलाई थप पहुँचयोग्य, पारदर्शी तथा लगानीकर्तामैत्री बनाउँदै लैजाने योजना रहेको जनाएको छ।

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको सहायक कम्पनीका रूपमा रहेको सिटिजन्स क्यापिटलमा कर्मचारी सञ्चय कोष तथा विभिन्न प्रतिष्ठित उद्योगी–व्यवसायीहरूको समेत लगानी रहेको छ। कम्पनीका अध्यक्ष राजेन्द्र लाल श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठ रहेका छन्।

तपाईको प्रतिक्रिया