काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तावित नीति तथा कार्यक्रम नगरसभाबाट सर्वसम्मत रूपमा पारित भएको छ। सोमबार बसेको नगरसभाको बैठकले सदस्यहरूबाट प्राप्त सुझाव तथा संशोधनलाई समेट्दै नीति तथा कार्यक्रम अनुमोदन गरेको हो।
नगरसभामा कार्यवाहक प्रमुख सुनिता डंगोल ले कार्यपालिका सदस्य तथा नगरसभा सदस्यहरूबाट प्राप्त राय, सुझाव र सल्लाहका आधारमा संशोधित नीति तथा कार्यक्रम पारित गर्न प्रस्ताव प्रस्तुत गरेकी थिइन्। उनले प्राप्त सुझावहरूले आगामी बजेट, आर्थिक विधेयक र विनियोजन विधेयक निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिन्।डंगोलले महानगरपालिकाले सुशासन, पारदर्शिता र प्रभावकारी सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै नागरिकलाई छिटो, सरल र सहज सेवा उपलब्ध गराउने लक्ष्यसहित नीति तथा कार्यक्रम अघि बढाएको बताइन्। नगरसभा सदस्यहरूबाट आएका नवीन तथा सिर्जनात्मक सुझावहरूलाई कार्यान्वयनमा लैजाने प्रतिबद्धता समेत उनले व्यक्त गरिन्।उनका अनुसार केही सुझाव महानगरका विद्यमान ऐन तथा कानुन संशोधनसँग सम्बन्धित रहेकाले आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइनेछ। प्राप्त सुझावलाई आधार बनाएर बजेट, आर्थिक विधेयक–२०८३ तथा विनियोजन विधेयक–२०८३ तयार गरिने उनको भनाइ छ।नीति तथा कार्यक्रम पारित भएसँगै अब महानगरपालिकाले आगामी आर्थिक वर्षको बजेट तथा सम्बन्धित विधेयकहरू प्रस्तुत गर्ने तयारी थालेको छ। यसका लागि नगरसभाको अर्को बैठक असार ४ गते दिउँसो ३ बजे Rastriya Sabha Griha मा बस्ने तय गरिएको छ।
उल्लेखनीय छ, कार्यवाहक प्रमुख सुनिता डंगोलले गत बिहीबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम नगरसभामा प्रस्तुत गरेकी थिइन्। त्यसपछि नगरसभा सदस्यहरूबीच भएको छलफल र प्राप्त सुझावका आधारमा संशोधन गरी उक्त नीति तथा कार्यक्रम अन्ततः सर्वसम्मत रूपमा पारित गरिएको हो।

Online Arthik










