सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै बुटवलमा नागरिक समाजको अगुवाइमा सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न अपीलसहित सद्भाव र्याली निकालिएको छ।
पुष्पलाल चोकदेखि ट्राफिकचोकसम्म आयोजित र्यालीमा सामाजिक, धार्मिक तथा साम्प्रदायिक सद्भाव कायम राख्नुपर्ने सन्देशसहित ब्यानर प्रदर्शन गरिएको थियो। र्यालीमा नागरिक समाजका अगुवा, मानवअधिकारकर्मी, सञ्चारकर्मी, व्यवसायिक संघसंस्थाका प्रतिनिधि, विभिन्न धार्मिक समुदायका अगुवा तथा कानून व्यवसायीलगायतको उल्लेखनीय सहभागिता रहेको थियो। राष्ट्रिय स्वतन्त्रताका लागि नागरिक मञ्चका अध्यक्ष अधिवक्ता पदम कार्की, सामाजिक अभियन्ता विरेन्द्र विक, मानवअधिकारकर्मी गोविन्द खनाललगायतको अगुवाइमा आयोजित र्यालीमा नेपालमा सदियौँदेखि कायम सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सबै पक्षसँग अपील गरिएको थियो।गत साउन १० गते सुनसरीको देवानगञ्जमा भएको घटनामा प्रहरीको गोली लागेर ओमप्रकाश महतोको मृत्यु भएको थियो भने सुरक्षाकर्मीसहित २० जनाभन्दा बढी घाइते भएका थिए। घटनापछि सुनसरीका पाँच स्थानमा कर्फ्यु आदेश जारी गरिएको छ भने विराटनगर, सिरहा र सप्तरीमा समेत विरोध प्रदर्शन भएका छन्।
र्यालीपछि सञ्चारकर्मीसँग कुरा गर्दै सामाजिक अभियन्ता विरेन्द्र विकले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न सरकारसँग माग गरे। उनले शान्तिपूर्ण रूपमा आफ्ना धारणा राख्ने नागरिकमाथि अनावश्यक बल प्रयोग, दमन तथा मानवअधिकारविपरीतका गतिविधि नगर्न सरकारलाई आग्रह गर्दै सुरक्षा निकाय, राजनीतिक दल, धार्मिक तथा सामाजिक संघसंस्था, नागरिक अभियन्ता, बुद्धिजीवी र सञ्चारमाध्यम सबैले उच्च जिम्मेवारीका साथ संयमता अपनाई सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकतालाई थप बलियो बनाउन भूमिका खेल्नुपर्ने बताए। साथै, मृतकका परिवारलाई उचित राहत तथा क्षतिपूर्ति र घाइतेहरूको सम्पूर्ण उपचारको जिम्मेवारी सरकारले लिनुपर्ने उनको माग रहेको छ।

Online Arthik










