लामो समयदेखि बन्द रहेको नेपालगञ्ज–पोखरा हवाई सेवा बुद्ध एयरले आगामी भदौ ३१ गतेदेखि पुनः सञ्चालन गर्ने भएको छ। यात्रुको माग बढेसँगै कम्पनीले उक्त रुटमा नियमित उडान पुनः सुरु गर्न लागेको हो।

बुद्ध एयर नेपालगञ्जका प्रमुख विनीतविक्रम शाहका अनुसार नेपालगञ्ज–पोखरा रुटमा यात्रुको माग बढेकाले उडान सञ्चालन गर्ने निर्णय गरिएको हो। कम्पनीले गत जेठ ५ गतेदेखि उक्त सेवा स्थगित गरेको थियो। शाहका अनुसार भारतको उत्तर प्रदेशलाई पोखरासँग सिधै जोड्ने भएकाले यो उडान धार्मिक पर्यटनका दृष्टिले समेत महत्वपूर्ण छ। भारतीय धार्मिक पर्यटकको संख्या घट्नु र इन्धन खर्च बढेका कारण यसअघि उडान स्थगित गरिएको थियो। पछिल्लो समय भारतीय धार्मिक पर्यटकको आगमन बढ्न थालेपछि सेवा पुनः सञ्चालन गर्न लागिएको उनले बताए।बुद्ध एयरले नेपालगञ्ज–पोखरा रुटमा आइतबार, बुधबार र शुक्रबार गरी सातामा तीन दिन उडान गर्ने तालिका तय गरेको छ। कम्पनीले यस रुटका लागि टिकट बुकिङसमेत खुला गरिसकेको जनाएको छ।बुद्ध एयरले पहिलोपटक २०७८ साउन १७ गतेदेखि सातामा तीन दिन उक्त रुटमा उडान सुरु गरेको थियो। सेवा पुनः सञ्चालन हुने भएपछि बाँकेका पर्यटन व्यवसायी उत्साहित भएका छन्।पर्यटन प्रवद्र्धन मञ्च बाँकेका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले नेपालगञ्ज–पोखरा उडानले पश्चिम नेपाल तथा भारतीय पर्यटकलाई पोखरासँग सिधा जोड्ने भएकाले पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने बताए।

उडान सञ्चालन भएपछि नेपाली यात्रुलाई पोखरा, मुस्ताङ, बागेश्वरी मन्दिर तथा भारतको अयोध्यालगायत धार्मिक तथा पर्यटकीय गन्तव्यमा पुग्न सहज हुने अपेक्षा गरिएको छ। साथै बाँके, बर्दिया, दाङ र सुर्खेतलगायत पश्चिम नेपालका यात्रुलाई पनि पोखरा आवतजावतमा थप सुविधा पुग्नेछ।

तपाईको प्रतिक्रिया