नेपाल राष्ट्र बैंकले शुक्रबार (आज) बैंकिङ प्रणालीबाट थप ८५ अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ। बैंकिङ प्रणालीमा नगद प्रवाह बढेसँगै तरलता अधिक भएपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत बजारबाट पैसा उठाउन लागेको हो।
राष्ट्र बैंकले गत भदौ ३ गते ३५ अर्ब रुपैयाँ तरलता खिचेको थियो। त्यसपछि पुनः १७५ दिनका लागि ८५ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्न लागेको हो। राष्ट्र बैंकले छोटो अवधिमै लगातार बजारबाट तरलता खिच्न लागेको यो दोस्रोपटक हो। राष्ट्र बैंकले विभिन्न विशेषता तथा शर्त कायम गरी निक्षेप संकलनको बोलकबोल तथा निष्काशन गर्ने जनाएको छ। निक्षेप संकलनको ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज आगामी माघ २९ गते भुक्तानी गरिनेछ।निक्षेप राख्न इच्छुक बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्। बोलकबोल रकम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने हुनुपर्नेछ।
इच्छुक ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले शुक्रबार दिउँसो ३ बजेसम्म आवेदन दिन सक्नेछन्। बोलकबोल अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत हुने राष्ट्र बैंकले जनाएको छ।

Online Arthik










