रसुवागढी–केरुङ र तातोपानी नाका बन्द भएपछि चीनसँगको उत्तरी सीमा नाका कोरलाबाट हुने व्यापारमा उल्लेख्य वृद्धि भएको छ। मुस्ताङको लोमान्थाङ–४ न्हेचुङस्थित मुस्ताङ भन्सार कार्यालयले पछिल्लो १५ दिनमा मात्रै १ अर्ब ७८ करोड ४४ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ।

भदौ १० गते रसुवागढी–केरुङ नाका बन्द भएपछि कोरलानाकाबाट चिनियाँ मालवस्तुको आयात तीव्र रूपमा बढेको हो। भदौ २२ गतेपछि कोरलाबाट दैनिक औसत करिब ३० करोड रुपैयाँ राजस्व सङ्कलन हुँदै आएको भन्सार कार्यालयले जनाएको छ। शुक्रबार मात्रै ७१ कन्टेनर र १०६ विद्युतीय सवारीसाधनको भन्सार जाँचपास गरिएको थियो। भदौ १० देखि २५ गतेसम्म कोरलानाका हुँदै ४३४ कन्टेनर र ६४१ विद्युतीय सवारीसाधन नेपाल भित्रिएका छन्। चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि भदौ २५ गतेसम्म कोरलानाकाबाट भएको कारोबारबाट कुल २ अर्ब ३१ करोड ४४ लाख रुपैयाँ राजस्व सङ्कलन भइसकेको छ।

गत आर्थिक वर्षमा पनि कोरलानाकाबाट ६ अर्ब ९२ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो। सो अवधिमा ३ हजार २२३ विद्युतीय सवारीसाधन र १ हजार ८७३ कन्टेनरको भन्सार जाँचपास गरिएको थियो।

तपाईको प्रतिक्रिया