त्रिशूली नदीको कटानका कारण अवरुद्ध पृथ्वी राजमार्गको कृष्णभिर खण्ड दुई–तीन दिनमै सञ्चालनमा आउने अपेक्षा गरिएको छ। सडक सञ्चालनका लागि करिब १५२ मिटर लामो र १० मिटर चौडा भिर कटानको काम सम्पन्न भइसकेको र अहिले सडकको सतह निर्माण, ग्रेड मिलाउने, कम्प्याक्सन तथा ग्राभेल बिछ्याउने काम तीव्र पारिएको छ।
मुग्लिङ–मलेखु सडक आयोजनाले बढीमा असोज १ गतेसम्म सडक खुलाउने लक्ष्य राखेर एक्साभेटर, बुल्डोजर, लोडर, ब्याकहो, टिप्पर, रक ब्रेकर र ग्रेडरसहितका उपकरण परिचालन गरेको छ। सडक सञ्चालनमा आएपछि खाद्यान्न, एलपी ग्यास, औषधि बोकेका सवारीसाधन तथा एम्बुलेन्सलाई प्राथमिकता दिने तयारी छ।
भदौ १४ गतेदेखि सडक अवरुद्ध हुँदा काठमाडौँ भित्रिने खाद्यान्न, एलपी ग्यासलगायत अत्यावश्यक वस्तुको आपूर्ति प्रभावित भएको छ। दैनिक करिब १५ हजार सवारीसाधन प्रभावित भएकोमा करिब ४ हजार मालवाहक तथा खाद्यान्न ढुवानी गर्ने सवारीसाधन रहेको प्रहरीले जनाएको छ। लामो समय सडक अवरुद्ध हुँदा वैकल्पिक मार्गमा चाप बढ्नुका साथै ढुवानी खर्च र यात्रा समयसमेत बढेको छ।
कृष्णभिरमा पहिरो र सडक भासिने समस्या पुरानै भए पनि पछिल्लो पटक सडक भासिएपछि पृथ्वी राजमार्गको महत्वपूर्ण खण्ड पूर्ण रूपमा अवरुद्ध भएको हो। सडक पुनः सञ्चालनमा आएपछि राजधानीको खाद्यान्न तथा एलपी ग्यास आपूर्ति क्रमशः सहज हुने अपेक्षा गरिएको छ।

Online Arthik









