रसुवाको भोटेकोशीमा आएको हिमबाढीका कारण स्थगित गरिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रमको विजेता असोज १ गते घोषणा हुने भएको छ। आन्तरिक राजस्व विभागले भदौ महिनामा कर प्रणालीमा सहभागी भएका उपभोक्तामध्येबाट कुल ३३ जना विजेता छनोट गर्ने तयारी गरेको छ।

कार्यक्रमअन्तर्गत दुई जनाले जनही १० लाख रुपैयाँ बम्पर पुरस्कार तथा ३१ जनाले जनही १ लाख ३३ हजार ३३४ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। भदौ १ देखि १५ गतेसम्मको कारोबारबाट १५ जना दैनिक विजेता र एक जना बम्पर विजेता तथा भदौ १६ देखि ३१ गतेसम्मको कारोबारबाट थप १६ जना दैनिक विजेता र एक जना बम्पर विजेता छनोट गरिनेछ। करदाता प्रोत्साहन उपहार कार्यक्रम करको दायरा विस्तार, उपभोक्तालाई सक्कली बिल लिन प्रोत्साहित गर्ने तथा विद्युतीय भुक्तानीलाई बढावा दिने उद्देश्यले चालु आर्थिक वर्षको बजेटमार्फत सुरु गरिएको हो। साउन १ गतेदेखि सुरु भएको कार्यक्रमअन्तर्गत भदौ १६ गते विजेता घोषणा गर्ने तालिका रहे पनि भोटेकोशी बाढीपछि उत्पन्न विपद्का कारण कार्यक्रम स्थगित गरिएको थियो।कार्यक्रममा सहभागी हुन उपभोक्ताले एक सय रुपैयाँभन्दा बढीको वस्तु वा सेवा खरिद गर्दा सक्कली भ्याट वा प्यान बिल लिनुपर्ने व्यवस्था छ। विद्युतीय माध्यमबाट गरिएको कारोबार स्वतः प्रणालीमा समावेश हुने भए पनि नगद कारोबार गर्नेले भने विभागको करदाता प्रोत्साहन पुरस्कार पोर्टलमा बिल अपलोड गरी कुपन लिनुपर्नेछ।

पुरस्कार रकममा २५ प्रतिशत कर लाग्ने भएकाले १ लाख ३३ हजार ३३४ रुपैयाँको पुरस्कारबाट कर कट्टीपछि करिब १ लाख रुपैयाँ र १० लाख रुपैयाँको बम्पर पुरस्कारबाट ७ लाख ५० हजार रुपैयाँ प्राप्त हुनेछ।

तपाईको प्रतिक्रिया