दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशको सुर्खेतलगायत विभिन्न जिल्लामा आयोजना हुने भएको छ।
प्रतियोगिता आयोजना गर्ने नेपाल सरकारको निर्णयलाई मूल आयोजक समितिले स्वागत गर्दै सरकारप्रति धन्यवाद व्यक्त गरेको छ। प्रत्येक दुई वर्षमा चक्रीय प्रणालीअनुसार आयोजना हुँदै आएको राष्ट्रिय खेलकुद प्रतियोगिताको दसौँ संस्करण आयोजना गर्ने जिम्मेवारी यसपटक कर्णाली प्रदेशले पाएको हो।स्थानीय तहदेखि खेल प्रतिभाको खोजी, पहिचान तथा उत्पादन गर्दै नेपाली खेलकुदको विकास र विस्तार गर्ने उद्देश्यले राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुँदै आएको छ। प्रतियोगितालाई भव्य, सभ्य र व्यवस्थित रूपमा सम्पन्न गर्न पूर्वतयारी, व्यवस्थापन तथा सञ्चालनका लागि कार्यसम्पादन समितिलाई आवश्यक निर्देशन दिइएको छ।दसौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी ११ टोलीको सहभागिता रहनेछ। प्रतियोगितामा ३२ खेल विधा समावेश गरिनेछ।नेपाल सरकारबाट स्वीकृत बजेट तथा खर्चसम्बन्धी मापदण्डअनुसार प्रतियोगिताको खर्च व्यवस्थापन गरिनेछ। यसैगरी, पहिलो पटक आयोजना हुन लागेको प्रथम पारा राष्ट्रिय खेलकुद प्रतियोगिताको सञ्चालन तथा व्यवस्थापनका लागि आवश्यक प्रक्रिया अघि बढाइने निर्णयसमेत भएको छ।बैठकलाई सम्बोधन गर्दै शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित मितिमै हुनेमा ढुक्क हुन आग्रह गर्नुभयो। उहाँले प्रतियोगिताको उत्सव आजैदेखि सुरु भएको उल्लेख गर्दै मंसिर १६ गतेदेखि प्रतियोगिता औपचारिक रूपमा सञ्चालन हुने बताउनुभयो।मन्त्री पोखरेलले अघिल्ला राष्ट्रिय खेलकुद प्रतियोगिताको तुलनामा यसपटकको प्रतियोगिता अझ प्रभावकारी रूपमा सञ्चालन हुने विश्वास व्यक्त गर्नुभयो। प्रतियोगिता सफल बनाउन तीन तहका सरकार, सरोकारवाला तथा सम्बन्धित सबै पक्षबीच प्रभावकारी सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो।कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले मूल आयोजक समितिको बैठकले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुने सुनिश्चितता गरेको बताउनुभयो। प्रतियोगिता सफलतापूर्वक आयोजना गरेर कर्णाली प्रदेश सक्षम छ भन्ने सकारात्मक सन्देश दिन सकिने उहाँले उल्लेख गर्नुभयो।राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहताले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमै भव्य, सभ्य र व्यवस्थित रूपमा सम्पन्न गर्न आवश्यक सबै तयारी भइरहेको जानकारी दिनुभयो।प्रतियोगितालाई प्रभावकारी र व्यवस्थित बनाउन निजी क्षेत्र, संघसंस्था तथा अन्य सरोकारवाला निकायको सहभागिता बढाइने भएको छ। यसका लागि सार्वजनिक–निजी साझेदारीको अवधारणा अवलम्बन गर्दै सम्भावित प्रायोजकहरूसँग समझदारी गरी कार्यक्रम कार्यान्वयन गर्ने निर्णय गरिएको छ।प्रतियोगिता सञ्चालनका लागि राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका, २०८३ बमोजिम विभिन्न विषयगत उपसमिति गठन गरिनेछ। साथै, दसौँ राष्ट्रिय खेलकुद तथा प्रथम पारा राष्ट्रिय खेलकुद प्रतियोगिताको सञ्चालन र व्यवस्थापनसम्बन्धी आवश्यक कार्य गर्न कार्यसम्पादन समितिलाई आवश्यक अधिकारसमेत प्रदान गरिएको छ।
दसौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई नेपाली खेलकुदको विकास, प्रतिभा पहिचान तथा उत्पादन र खेलकुद पूर्वाधारको विस्तारका दृष्टिले महत्वपूर्ण अवसरका रूपमा लिइएको छ। प्रतियोगितालाई सफल बनाउन संघ, प्रदेश, स्थानीय तह, खेलाडी, प्रशिक्षक, खेल संघ, निजी क्षेत्र तथा सम्पूर्ण सरोकारवालाको सहकार्य र सहभागिता अपेक्षित गरिएको छ।a

Online Arthik










