भोटेकोशी–त्रिशूली बाढीबाट भएको क्षतिबापत बीमा कम्पनीहरूमा परेको दाबी रकम २० अर्ब ९० करोड रुपैयाँ नाघेको छ । तर, प्रभावित बिमितलाई हालसम्म गरिएको अग्रिम भुक्तानी भने ८२ करोड १३ लाख ९० हजार रुपैयाँमा सीमित रहेको छ ।
नेपाल बीमा प्राधिकरणको असोज ३० गतेसम्मको तथ्यांकअनुसार बाढीबाट भएको क्षतिबापत निर्जीवन बीमा कम्पनीहरूमा कुल २ हजार ४९१ वटा दाबी परेका छन् । ती दाबीमार्फत २० अर्ब ९० करोड ४९ लाख रुपैयाँ माग गरिएको छ । यस आधारमा हालसम्म गरिएको अग्रिम भुक्तानी कुल दाबी रकमको करिब ३.९२ प्रतिशत मात्रै हो । यद्यपि, कुल दाबी रकमका आधारमा मात्रै कम्पनीहरूले पर्याप्त अग्रिम भुक्तानी नगरेको निष्कर्ष निकाल्न भने मिल्दैन । बीमा प्राधिकरणले प्रारम्भिक मूल्यांकनबाट निर्धारण हुने दाबीयोग्य रकमको ५० प्रतिशतसम्म अग्रिम भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ । प्रारम्भिक दाबी र मूल्यांकनपछि कायम हुने वास्तविक दाबीयोग्य रकम फरक पर्न सक्ने भएकाले भुक्तानीको अवस्था कम्पनीअनुसार फरक हुन सक्छ ।कम्पनीगत रूपमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सले सबैभन्दा बढी २६ करोड ६३ लाख रुपैयाँ अग्रिम भुक्तानी गरेको छ । हिमालयन एभरेस्ट इन्स्योरेन्सले २३ करोड २३ लाख रुपैयाँ र शिखर इन्स्योरेन्सले २१ करोड ४७ लाख रुपैयाँ अग्रिम भुक्तानी गरेका छन् ।दाबी रकमका आधारमा भने हिमालयन एभरेस्ट इन्स्योरेन्समा सबैभन्दा बढी दाबी परेको छ । उक्त कम्पनीमा २०९ वटा दाबीमार्फत ६ अर्ब ६१ करोड ५५ लाख रुपैयाँ माग गरिएको छ । सानिमा जीआईसी इन्स्योरेन्समा ३ अर्ब ४३ करोड ६ लाख रुपैयाँ र शिखर इन्स्योरेन्समा २ अर्ब ६३ करोड ९१ लाख रुपैयाँ बराबरको दाबी परेको छ ।बीमा क्षेत्रगत विवरणअनुसार सबैभन्दा बढी रकम सम्पत्ति बीमातर्फ दाबी गरिएको छ । यसअन्तर्गत ५७६ वटा दाबीबाट ९ अर्ब ५६ करोड ३५ लाख रुपैयाँ माग भएको छ । यसैगरी, इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमा, मोटर बीमा र परिवहन बीमातर्फ पनि उल्लेख्य रकमको दाबी परेको छ ।
बाढीबाट ठूलो आर्थिक क्षति बेहोरेका व्यवसायी तथा सर्वसाधारणका लागि बीमा रकमको भुक्तानी महत्वपूर्ण राहत बन्न सक्छ । त्यसैले प्रारम्भिक मूल्यांकन, कागजात प्रमाणीकरण र दाबी फर्छ्योटको गति महत्वपूर्ण हुने देखिएको छ । प्राधिकरणको व्यवस्थाअनुसार योग्य दाबीमा अग्रिम भुक्तानीको व्यवस्था भए पनि वास्तविक राहत कति छिटो बिमितको हातमा पुग्छ भन्ने विषय बीमा कम्पनीहरूको मूल्यांकन तथा भुक्तानी प्रक्रियामा निर्भर रहनेछ ।

Online Arthik









