काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले सेयरधनीलाई अन्तरिम लाभांश वितरण गर्ने भएको छ । बैंक सञ्चालक समितिको बैठकले यस विषम परिस्थितिमा सेयरधनीलाई ३ प्रतिशत अन्तरिम लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

गत आर्थिक वर्षको साधारण सभा स्थगित भएपछि बैंकले उक्त निर्णय गरेको हो ।

बैंकले स्वीकृत नगद लाभांसको ३ प्रतिशत रकम अर्थात् २५ करोड २४ लाख ६४ हजार रुपैयाँ कर कट्टी गरी हुन आउने २३ करोड ९८ लाख ४० हजार रुपैयाँ लाभांश वितरण गर्ने भएको छ । उक्त लाभांश गत फागुन ३० गतेसम्म कायम रहेका सेयरधनीले मात्र पाउने बैंकले जानकारी गराएको छ ।

साथै, बाँकी रहेको नगद लाभांस र बोनस सेयर वार्षिक साधारण सभा भए पश्चात् वितरण गर्ने बैंकले जनाएको छ ।

बैंकले आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ४.७५ प्रतिशत लाभांश वितरण गर्न स्वीकृत पाएको थियो । बैंकको चुक्ता पुँजी ८ अर्ब ४१ करोड ५४ लाख रुपैयाँ रहेको छ ।

हाल विश्वभर फैलिएको कोभिड-१९ को महामारीको कारणले स्थिगित भएको साधारण सभा अर्काे सूचना प्रकाशित नभएसम्मको लागि स्थगित हुने बैंकले जनाएको छ ।

तपाईको प्रतिक्रिया