नेपालको ठूलो र सक्षम बैंक नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले ढिलै भएपछि इटलीको अदालतबाट सफाई पाएको छ ।
विगत दिनहरुमा नेपाल इन्भेष्टमेण्ट बैंकको चर्को आलोचना गर्नेहरुलाई यसले ठूलो जवाफ दिएको छ ।

कर्पोरेट सुशासन र नाफामा सधैं अगाडी रहेको बैंक नेपाल इन्भेष्टमेण्ट बैंकलाई यस पैसाले ठूलो राहत मात्रै भएको छैन । लगानीकर्ताहरुले ठूलो प्रतिफल पाउने देखिन्छ ।

नेपाल इन्भेष्टमेण्ट बैंकले २ अर्ब चार करोड रुपैयाँको मुद्दा जितेको हो । इटालीको अदालतमा परेको तनहुँ हाइड्रोपावर सम्बन्धि मुद्दामा करिब २ वर्ष पछि नेपाल इन्भेष्टमेण्ट बैंकले जितेको हो ।

‘हामीले अहिले भर्खर मुद्दा जित्यौं । अब बैंकको २ अर्ब रुपैयाँभन्दा बढी पैसा फिर्ता गराउन हामी त्यहाँको बैंकसँग दाबी गर्छौं,’ नेपाल इन्भेष्टमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले आर्थिक बजार न्यूज डटकमसंग टेलिफोनमा भने, ’यसबाट बैंकको वासलात थप सुदृढ र मजबुद बन्ने छ ।’

तनहुँ जलविद्युत परियोजनामा ठेकेदार कम्पनी मुराटोरी इ केमेन्टिस्टी (सीएमसी) ले कार्यसम्पादनका लागि ग्यारेन्टी दिएको थियो । तर कम्पनीले भने अनुसार काम गरिरहेको थिएन । कम्पनीले काम नगरेपछि तनहुँ हाइड्रोले ग्यारेन्टीवापतको रकम बैंकसँग दाबी (क्लेम) गरेको थियो । उत्तिनै बेला नेपाल इन्भेष्टमेण्ट बैंकले दाबी भुक्तानी गरिदिएको थियो ।

 

सीएमसीले आफ्नो जमानत जफत भएको भन्दै इटालीको स्थानीय अदालतमा मुद्दा हालेको थियो । अदालतको एकल इजलासले पहिलो पटक नेपाल इन्भेष्टमेण्ट बैंकलाई मुद्दा हराइदिएको थियो । बैंकको तर्क नसुनी एकपक्षीय निर्णय भएको भन्दै नेपाल इन्भेष्टमेण्ट बैंकले पुनरावेदन गरेको सीइओ पाण्डेले बताए ।

कोभिड–१९ का कारण मुद्दाको फैसला ढिलाइ भइरहेको थियो । अन्ततः इटलीको सो अदालतका तीन न्यायाधीशको संयुक्त इजलासले नेपाल इन्भेष्टमेण्ट बैंकको पक्षमा फैसला गरिदिएको हो ।

सीएमसीले नेपाल इन्भेष्टमेण्ट बैंक, तनहुँ हाइड्रोका साथै इटालीस्थित इन्टेसा सानपाउलो बैंकलाई मुद्दा हालेको थियो । मुद्दा परेपछि इटलीको बैंकले नेपाल इन्भेष्टमेण्ट बैंकले तनहुँ हाइड्रोपावरलाई भुक्तानी गरेको रकम फिर्ता गरेको थिएन ।
बैंकले नेपाली र युरोमा कार्य सम्पादन ग्यारेन्टी दिएको थियो । बैंकले ८५ करोड १४ लाख १६ हजार रुपैयाँ र ८७ लाख ४९ हजार युरो (एक अर्ब १९ करोड रुपैयाँ हाराहारी) ग्यारेन्टी दिएको थियो ।

नेपाल इन्भेष्टमेण्ट बैंकका सीइओ पाण्डेले भनेः– ‘अब हामी इटालीको बैंकलाई तत्काल पैसा भुक्तानी गर्न भन्छौं, यसबाट बैंकको पैसा मात्र फर्किने होइन देशकै ठूलो पैसा फर्किन्छ नि ।’

ग्यारेन्टी वापतको पैसा डुबेपछि इन्भेष्टमेण्ट बैंकलाई राष्ट्र बैंकको प्रावधान अनुसार नोक्सानी ब्यवस्थापन (प्रोभिजनिङ) गर्नुपर्ने दबाबमा थियो । यही कारण बैंकको खराब ऋणमा बढ्ने अवस्था पनि थियो । अब बैंकलाई यो दबाब हुने छैन सीइओ पाण्डेले दाबी गरे ।

सीइओ पाण्डेले थपेः– हामीले मुद्दा जितिसकेको अवस्थामा आजै हामीले पैसाका लागि क्लेम गरिसकेका छौं, अब त्यहाँको बैंकलाई पैसा फिर्ता गर्न अनिवार्य हुनेछ नि ।

सीइओ पाण्डेले खुशी मुद्र्रामा भनेः– यति ठूलो रकमको बैंक ग्यारेन्टीमा मुद्दा जित्दा देशकै पैसा फर्किने अवस्था आएको छ । मुद्दा लड्नका लागि बैंकले वकिलहरु बोकेर धेरैपटक इटाली धाउनु परेको स्मरण गर्दै उनीले थपेः– बैकले यस घटनाबाट एउटा पाठ सिकेको छ । हामी खुशी छौं । यसले बैंक बलियो हुनेछ भने लगानीकर्ताहरुले राम्रो प्रतिफल पाउनेछन् नि ।

तपाईको प्रतिक्रिया