साञ्जेन जलविद्युत कम्पनीले साधारण सभा आह्वान गरेको छ ।

कम्पनी सञ्चालक समितिको मंसिर २६ गते सम्पन्न सञ्चालक समितिको २०८ औं बैठकले पुस २४ गते चिलिमे जलविद्युत कम्पनीको सभाहल धुम्बाराही काठमाण्डौंमा बिहान ११ बजे दशौं वार्षिक साधारण सभा बोलाएको हो ।

बैठकले शेयरधनीलाई कुनैपनि बोनस वा नगद लाभांश प्रस्ताव नगरेको कम्पनी सचिव धनश्याम श्रेष्ठले जानकारी दिए । आयोजना निमार्णको क्रममा नै रहेकाले कम्पनीका शेयरधनीले लाभांश पाउन अझै केही वर्षहरु नै कुर्नुपर्ने देखिन्छ ।

सभाले अध्यक्षद्वारा प्रस्तुत आव २०७६/७७ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान सहितको नगद प्रवाह विवरण र लेखापरीक्षक नियुक्ती तथा पारिश्रमिक निर्धारण लगायतका प्रस्तावहरु उपर छलफल गरी पारित गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १७ देखि २४ गतेसम्म शेयर दाखिला खारेजीको मिति तोकेको छ । यसअनुसार पुस १६ गतेसम्म नेप्सेमा शेयर कारोबार भई कायम रहेका शेयरधनीले मात्र साधारण सभामा प्रतिनिधित्व जनाउन सक्नेछन् ।

तपाईको प्रतिक्रिया