आज शिवम सिमेन्ट्स लिमिटेडले सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले ६८ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ५१.२० प्रतिशतले कम हो। अघिल्लो वर्ष कम्पनीले १ अर्ब ४१ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो।
कम्पनीले उत्पादन बिक्रीबाट हुने आम्दानी पनि ३.६९ प्रतिशतले घटेर ९ अर्ब २६ करोड रुपैयाँमा झरेको छ। अघिल्लो वर्ष उत्पादन बिक्रीबाट कम्पनीले ९ अर्ब ६१ करोड रुपैयाँ आम्दानी गरेको थियो।
कम्पनीको रिटेन अर्निङ १२.८८ प्रतिशतले घटेको छ। अघिल्लो रिटेन अर्निङमा ४ अर्ब ४४ करोड रुपैयाँ रहेकोमा समीक्षा अवधिमा घटेर ३ अर्ब ८७ करोड रुपैयाँमा झरेको छ।
चुक्तापुँजी ४ अर्ब ४० करोड रुपैयाँ कम्पनीको ईपीएसमा पनि पहिरो गएको छ। अघिल्लो वर्ष ईपीएस ३२.११ रुपैयाँ रहेकोमा समीक्षा अवधिमा घटेर १५.६७ रुपैयाँमा झरेको छ। यो हिसाबले ईपीएसमा ५१.२० प्रतिशतको गिरावट आएको छ।
प्रतिसेयर नेटवर्थ २२२.८४ रुपैयाँबाट घटेर २०९.८२ रुपैयाँमा झरेको यो कम्पनीको पीई रेसियो ४८.५१ गुणा रहेको छ।
राम्रो वित्तीय विवरण आउने हल्ला फैलाएर पछिल्लो समय शिवम सिमेन्ट सेयरभाउ दोस्रो बजारमा उचाल्ने काम भएको थियो। गत अगस्ट १ मा यो कम्पनीको सेयरभाउ बढाएर प्रतिकित्ता ८४८ रुपैयाँ पुर्याइएको थियो। हिजोको अन्तिम कारोबार मूल्यअनुसार भने यो कम्पनीको सेयरभाउ पुनः प्रतिकित्ता ७०७ रुपैयाँमा झरेको छ।
यसरी टाठाबाठाले शिवम सिमेन्टको सेयरभाउ उचालेर पुनः झार्ने काम गर्दा सोझा लगानीकर्ताहरु फस्ने काम भएको छ।

Online Arthik










