क्यापिटल म्याक्स सेक्युरिटिज लिमिटेडले आफ्नो तेस्रो वार्षिक साधारण सभा आगामी पुस ११ गते काठमाण्डौको ज्ञानेश्वरस्थित अटिक रेस्टुरेन्टमा दिउँसो ३:३० बजेदेखि आयोजना गर्ने निर्णय गरेको छ। मंसिर १७ गते बसेको सञ्चालक समितिको बैठकले सभा बोलाउने निर्णय गरेको हो। सभामा कम्पनीले हाल कायम रहेको चुक्तापूँजी र सञ्चित मुनाफाको जम्मा रकम भन्दा बढीका लागि विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिइएको ऋणलाई अनुमोदन गर्ने प्रस्ताव राखिएको छ। साथै कम्पनीको अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने विशेष प्रस्ताव पनि सभामा पेश गरिनेछ।

यस्तै, सञ्चालक समितिले २०८२ असार मसान्तसम्म कायम सञ्चित मुनाफाबाट २० प्रतिशत सेयर लाभांश र १०.९ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव सभामा प्रस्तुत गर्नेछ। सभामा आव २०८१/८२ को दोस्रो वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ भने लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणहरूको पनि समीक्षा गरी पारित गरिनेछ।

त्यसैगरी, आगामी आव २०८२/८३ का लागि नयाँ लेखापरीक्षक नियुक्त गर्ने निर्णय सभाले गर्नेछ। साथै सञ्चालक समितिमा भएको परिवर्तन तथा नयाँ नियुक्तिको अनुमोदन पनि सभाको कार्यसूचीमा समावेश गरिएको छ।

तपाईको प्रतिक्रिया