सिटिजन्स बैंक अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘बैंक अफ द इयर २०२५’ अवार्ड प्राप्त गर्न सफल भएको छ। बेलायतको लण्डनस्थित फाइनान्सियल टाइम्स द्वारा आयोजित विशेष कार्यक्रमकाबीच यो अवार्ड सिटिजन्स बैंकलाई प्रदान गरिएको हो। बैंकले यसअघि सन् २०२४ मा पनि यही अवार्ड जितेको हुँदा यो सम्मान लगातार दोस्रो पटक प्राप्त गरेको हो। कार्यक्रममा बैंकका अध्यक्ष प्रवलजंग पाण्डे तथा प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले अवार्ड ग्रहण गरेका थिए। सो कार्यक्रममा १२५ भन्दा बढी देशका बैंकका अध्यक्ष तथा सीईओहरूसहित करिब ४ सयभन्दा बढी व्यक्तिहरूको उपस्थिति रहेको थियो।
अवार्ड प्राप्त भएपश्चात् बैंकका अध्यक्ष पाण्डेले लगातार दुई वर्ष विश्वकै प्रतिष्ठित अवार्ड हात पार्न पाउँदा गहिरो गौरव महसुस भएको बताए। उनले आगामी दिनमा अझै जिम्मेवार बनेर उत्कृष्ट, आधुनिक र ग्राहकमैत्री बैंकिङ सेवा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे। त्यस्तै बैंकका सीईओ पोखरेलले कर्मचारीहरूको अहोरात्र मिहिनेत तथा सरोकारवाला निकायहरूको सहयोगबाट यो उपलब्धि हासिल भएको बताउँदै भविष्यमा सुशासन, प्रुडेन्ट बैंकिङ र हरित बैंकिङमा अझै बढी ध्यान दिने उल्लेख गरे।
नेपालमा सन् २००२ देखि बैंकहरू ‘बैंक अफ द इयर’ अवार्ड प्राप्त गर्दै आएका छन्, जहाँ हालसम्म ९ वटा बैंकहरू मात्र यो अवार्ड हात पार्न सफल भएका छन्। फाइनान्सियल टाइम्सले हरेक वर्ष विश्वभरका बैंकहरूको कार्यसम्पादन र प्रभावकारी गतिविधि मूल्यांकन गरी अवार्ड प्रदान गर्छ, जसको सूची ‘द बैंकर’ म्यागजिनमार्फत प्रकाशित हुने गर्छ।
नवीनतम सेवाहरूको विकासमा सक्रिय सिटिजन्स बैंकले हालै फोनपेसँग सहकार्य गरी नेपालकै पहिलो भर्चुअल क्रेडिट कार्ड ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ सार्वजनिक गरेको छ। साथै युवा लक्षित ‘सिटिजन्स जेनजी सेभिङ अकाउन्ट’, एकीकृत अनलाइन प्लेटफर्म ‘सिटिजन्स डीजी बैंक सेवा’, तथा ‘फ्रिलान्सर सेभिङ अकाउन्ट’ सुरु गरेर बैंकिङ क्षेत्रका विभिन्न वर्गलाई लक्षित सेवा विस्तार गरेको छ। नेपालमै पहिलो पटक मोबाइल बैंकिङमार्फत नै सेयर आवेदन तथा सीआरएन सेवाको सुविधा उपलब्ध गराउनुका साथै क्रस बैंक टेलर सेवा सञ्चालन गरी अन्य बैंकका ग्राहकले पनि सिटिजन्स बैंक शाखाबाट क्यूआर स्क्यानमार्फत नगद पाउन सक्ने व्यवस्था गरेको छ।
हाल सिटिजन्स बैंकले देशभरका ६१ जिल्लामा फैलिएका २०० शाखा, १६९ एटीएम, ३ विस्तारित काउण्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत १९ लाख ५६ हजारभन्दा बढी ग्राहकहरूलाई आधुनिक बैंकिङ सेवा प्रदान गरिरहेको छ।

Online Arthik










