बज्रयोगिनी अपाङ्गमैत्री सहकारी संस्थाले ३४औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा चौतारा साँगाचोकगढी नगरपालिका–१४ मा स्वास्थ्य शिविर आयोजना गरी मनाएको छ। आयुर्वेदिक चिकित्सालय जिल्ला कार्यालय सिन्धुपाल्चोक, सामुदायिक स्वास्थ्य केन्द्र डडुवा र गैरटार स्वास्थ्य चौकीको संयुक्त टोलीले शिविरमा सहभागी अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य परीक्षण र निःशुल्क औषधि वितरण गरेको थियो। शिविरको उद्घाटन गर्दै नगरप्रमुख कृष्णप्रसाद सापकोटाले अशक्त, अपाङ्ग, ६० वर्षमाथिका जेष्ठ नागरिक, एकल महिला तथा सिमान्तकृतका लागि नगरपालिकाले स्वास्थ्य बिमा उपलब्ध गराउने व्यवस्था गरिएको बताए। उनले सहकारी संस्थाले दिवसको अवसरमा स्वास्थ्य शिविर सञ्चालन गरेर महत्वपूर्ण कार्य गरेको उल्लेख गरे। कार्यक्रममा विशेष अतिथि उपप्रमुख सीता थापाले नगरपालिकाले अपाङ्गता भएका व्यक्तिका लागि विशेष कार्यक्रमहरू सञ्चालन गरिरहेको बताउँदै, अवसर पाउँदा अपाङ्ग व्यक्तिहरू सपाङ्गसरह सक्षम हुने उल्लेख गर्दै सहकारी संस्थाको भूमिकाको प्रशंसा गरिन्। वडा अध्यक्ष उद्धव नेपालले अपाङ्गता दिवस अधिकांशले औपचारिक कार्यक्रम र अन्तरक्रियाबाट मनाउने गरे पनि बज्रयोगिनी सहकारी संस्थाले स्वास्थ्य परीक्षण र न्यानो कपडा वितरण जस्ता काम गरेर दिवस अर्थपूर्ण रूपमा मनाएको भन्दै धन्यवाद व्यक्त गरे। कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूको हक–हितका लागि योगदान दिँदै आएका अम्बरबहादुर घलेसहित स्वास्थ्य शिविरमा सेवा प्रवाह गर्ने स्वास्थ्यकर्मीलाई सम्मान गरिएको थियो। चतुरबहादुर तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा नगर अपाङ्ग समन्वय समितिका दीपक अर्यालसहित अपाङ्गता भएका व्यक्तिहरू उपस्थित थिए। समाजसेवी भूपेन्द्र थापाको पहलमा नगरभरिका ७८ जना अपाङ्गता भएका व्यक्तिले न्यानो कपडा प्राप्त गरेका थिए भने लायन्स क्लब चौताराका अध्यक्ष रबिन गौतम, पूर्व अध्यक्ष भगवान खड्का र कविन्द्र दुलालसहितको टोलीले न्यानो कपडा वितरण गरेको थियो।

तपाईको प्रतिक्रिया