एभरेष्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा ब्याज आम्दानी र खुद नाफामा सामान्य सुधार देखाएको छ। बैंकले यस अवधिमा २ अर्ब ११ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २.०४ प्रतिशतले वृद्धि हो। अघिल्लो वर्षको दोस्रो त्रैमाससम्म बैंकले २ अर्ब ७ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।
बैंकको खुद ब्याज आम्दानी पनि वृद्धि हुँदै ४ अर्ब ३१ करोड रुपैयाँबाट ४ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ। यस्तै, खुद शुल्क तथा कमिशन आम्दानी पनि ७६ करोड ५० लाख रुपैयाँबाट बढेर ९२ करोड ९ लाख रुपैयाँ पुगेको छ।यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा २३.०४ प्रतिशतले वृद्धि भई ३ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ। साथै, बैंकको लाभांश क्षमता ३०.५८ प्रतिशतबाट बढेर ३१.९३ प्रतिशत कायम भएको छ।तर, बैंकको इम्पेयरमेन्ट चार्ज भने वृद्धि भएको छ। अघिल्लो आर्थिक वर्षमा ३४ करोड ९५ लाख रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज बढेर चालु आवको दोस्रो त्रैमासमा ५६ करोड २७ लाख रुपैयाँ पुगेको छ।बैंकको वित्तीय सूचकतर्फ हेर्दा, खराब कर्जा अनुपात (NPL) ०.६८ प्रतिशत, कस्ट अफ फण्ड ३.४५ प्रतिशत र रिटर्न अन इक्विटी (ROE) १३.१९ प्रतिशत कायम रहेको छ।
समीक्षा अवधिसम्म बैंकको प्रति सेयर आम्दानी (EPS) ३०.८६ रुपैयाँ, प्रति सेयर नेटवर्थ २३५.१५ रुपैयाँ, पी/ई रेसियो २१.३९ गुणा र तरलता अनुपात ३२.५७ प्रतिशत रहेको छ।

Online Arthik










