सालपा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार बैंकको घाटा अघिल्लो आर्थिक वर्षको तुलनामा उल्लेख्य रूपमा बढेको छ।

समीक्षा अवधिसम्म बैंकले १० करोड ४० लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म बैंकको घाटा भने १३ लाख ९२ हजार रुपैयाँमा सीमित थियो।बैंकको खुद ब्याज आम्दानीमा समेत गिरावट आएको छ। अघिल्लो आर्थिक वर्षमा ३ करोड ६५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले चालु आवको दोस्रो त्रैमाससम्म २ करोड ८१ लाख रुपैयाँ मात्रै खुद ब्याज आम्दानी गरेको छ। यस्तै, खुद शुल्क तथा कमिशन आम्दानी पनि १५ लाख ९० हजार रुपैयाँबाट घटेर १५ लाख ६३ हजार रुपैयाँमा सीमित भएको छ।

यद्यपि, यस अवधिमा बैंकको निक्षेप संकलन र कर्जा प्रवाह भने वृद्धि भएको छ। बैंकको निक्षेप संकलन १०.८८ प्रतिशतले बढेर १ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह ४.२६ प्रतिशतले वृद्धि भई १ अर्ब १४ करोड रुपैयाँ पुगेको छ।समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा २ करोड ४४ लाख रुपैयाँले ऋणात्मक अवस्थामा रहेको छ। सकारात्मक पक्षमा भने बैंकले आफ्नो खराब कर्जा अनुपात (NPL) ५.७१ प्रतिशतबाट घटाएर ४.९२ प्रतिशतमा झारेको छ।

अन्य वित्तीय सूचकहरूअनुसार, समीक्षा अवधिसम्म बैंकको प्रति सेयर आम्दानी (EPS) १.९९ रुपैयाँले ऋणात्मक, प्रति सेयर नेटवर्थ १०१.३१ रुपैयाँ र तरलता अनुपात ४१.४६ प्रतिशत कायम रहेको छ।

तपाईको प्रतिक्रिया