प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ अर्ब १ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २४.०७ प्रतिशतले कमी आएको हो। अघिल्लो आवको दोस्रो त्रैमाससम्म बैंकले १ अर्ब ३३ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।नाफा घटेपनि बैंकको खुद ब्याज आम्दानी भने वृद्धि भएको छ। समीक्षा अवधिसम्म बैंकले ४ अर्ब ९८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ, जुन अघिल्लो आवको ४ अर्ब ८६ करोड रुपैयाँको तुलनामा बढी हो।यस अवधिमा बैंकले खुद शुल्क तथा कमिशन आम्दानीबापत १ अर्ब १७ करोड रुपैयाँ आर्जन गरेको छ। तर, बैंकको खुद सञ्चालन आम्दानी १०.४६ प्रतिशतले घटेर ५ अर्ब २४ करोड रुपैयाँमा सीमित बनेको छ।२३ अर्ब ५४ करोड रुपैयाँ चुक्तापूँजी रहेको बैंकको रिटेन्ड अर्निङ ३ अर्ब ३५ करोड रुपैयाँले ऋणात्मक अवस्थामा रहेको छ। यद्यपि, बैंकको रिजर्भको आकार १२.९८ प्रतिशतले वृद्धि भई १४ अर्ब २२ करोड रुपैयाँ पुगेको छ। बैंकको वितरणयोग्य मुनाफा पनि ३ अर्ब ३५ करोड रुपैयाँले ऋणात्मक अवस्थामा रहेको छ।
बैंकको खराब कर्जा अनुपात (NPL) भने उल्लेख्य रूपमा बढेको छ। अघिल्लो आवमा ५.०६ प्रतिशत रहेको खराब कर्जा अनुपात समीक्षा अवधिमा ७.९४ प्रतिशत पुगेको छ।यस अवधिमा बैंकको निक्षेप संकलन घटेको छ भने कर्जा प्रवाह बढेको छ। बैंकको निक्षेप संकलन ३ खर्ब ४२ अर्ब रुपैयाँबाट घटेर ३ खर्ब ४० अर्ब रुपैयाँमा सीमित भएको छ। यस्तै, अघिल्लो आवमा २ खर्ब २५ अर्ब रुपैयाँ रहेको कर्जा प्रवाह बढेर २ खर्ब २७ अर्ब रुपैयाँ पुगेको छ।
अन्य वित्तीय सूचकतर्फ हेर्दा, समीक्षा अवधिसम्म बैंकको प्रति सेयर आम्दानी (EPS) ८.६२ रुपैयाँ, प्रति सेयर नेटवर्थ १४६.१७ रुपैयाँ, मूल्य–आम्दानी अनुपात (P/E) २१.२७ गुणा र तरलता अनुपात ३९.३१ प्रतिशत कायम रहेको छ।

Online Arthik









