नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको खुद ब्याज आम्दानीसँगै खुद नाफामा कमी आएको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म बैंकको खुद नाफा ४३.०४ प्रतिशतले घटेर १ अर्ब ६१ करोड रुपैयाँमा सीमित बनेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले २ अर्ब ८३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
यस अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि १२.८२ प्रतिशतले घटेर ६ अर्ब ४२ करोड रुपैयाँमा सीमित बनेको छ। यद्यपि, बैंकको खुद शुल्क तथा कमिशन आम्दानी भने केही वृद्धि भएको छ। अघिल्लो आवमा १ अर्ब ७ लाख रुपैयाँ रहेको खुद शुल्क तथा कमिशन आम्दानी बढेर १ अर्ब ९ करोड रुपैयाँ पुगेको छ।पुस मसान्तसम्म बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ६२ करोड रुपैयाँले ऋणात्मक अवस्थामा रहेको छ। दोस्रो त्रैमाससम्म बैंकको खराब कर्जा अनुपात (NPL) पनि बढेको छ। अघिल्लो आवमा ५.८६ प्रतिशत रहेको खराब कर्जा अनुपात समीक्षा अवधिमा ७.९० प्रतिशत पुगेको छ।सकारात्मक पक्षमा, बैंकले आफ्नो कस्ट अफ फण्ड घटाउन सफल भएको छ। अघिल्लो आवमा ४.६३ प्रतिशत रहेको कस्ट अफ फण्ड घटेर ३.६३ प्रतिशतमा झरेको छ।
अन्य प्रमुख वित्तीय सूचकअनुसार, समीक्षा अवधिसम्म बैंकको प्रति सेयर आम्दानी (EPS) ९.४५ रुपैयाँ, प्रति सेयर नेटवर्थ १९४.७७ रुपैयाँ, प्रति सेयर कुल सम्पत्तिको मूल्य १ हजार ७७९.७९ रुपैयाँ र मूल्य–आम्दानी अनुपात (P/E) २०.२० गुणा कायम भएको छ।

Online Arthik









