सानिगाड हाइड्रो लिमिटेड ले चैत ८ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ जारी गर्न लागेको हो।
कम्पनीले जारी पूँजी २ अर्ब ८५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् ८५ करोड ५० लाख रुपैयाँ बराबरको ८५ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो। जसमध्ये २८ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ दरका २८ लाख ५० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि छुट्याइएको छ।स्थानीयका लागि छुट्याइएको सेयरमध्ये १८ लाख ५२ हजार ५०० कित्ता सेयर बुंगल नगरपालिका वडा नम्बर १, २ र ४ का अति प्रभावित क्षेत्रका बासिन्दालाई बाँडफाँट गरिनेछ। बाँकी ९ लाख ९७ हजार ५०० कित्ता सेयर सोही नगरपालिकाका वडा नम्बर ३, ५, ६, ७, ९, १० र ११ का बासिन्दालाई वितरण गरिने कम्पनीले जनाएको छ।
यसैगरी सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये १० प्रतिशत अर्थात् ५ करोड ७० लाख रुपैयाँ बराबरको ५ लाख ७० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिनेछ।आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि आवेदन छिटोमा चैत २२ गते र ढिलोमा २०८३ वैशाख ७ गतेसम्म खुला रहनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आवेदन छिटोमा चैत ११ गते र ढिलोमा चैत २२ गतेसम्म खुला रहनेछ।कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। स्थानीय बासिन्दाले लक्ष्मी सनराइज बैंक (चैनपुर शाखा), ग्लोबल आइएमई बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंक को बझाङ जिल्ला स्थित शाखाबाट आवेदन दिन सक्नेछन्। साथै पावरहाउस विराबगर, बुंगलबाट पनि आवेदन दिन सकिनेछ।
आयोजना प्रभावित क्षेत्रका बासिन्दाले सेयर आवेदन फाराम लिन २ रुपैयाँ शुल्क बुझाउनुपर्नेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्ड बाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा तिनका शाखाबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

Online Arthik









