काठमाडौं महानगरपालिका ले खाना पकाउने एलपी ग्यास र सवारी साधनका लागि इन्धनको कृत्रिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि निगरानी बढाएको छ।
ग्यास हुँदाहुँदै छैन भन्दै ग्राहकलाई नदिने, अब ग्यास पाइँदैन भन्दै बढी मूल्य लिने तथा इन्धन डिपोमा तेल मौज्दात हुँदाहुँदै उपभोक्तालाई फर्काउने गुनासो बढेपछि महानगरले निगरानी संयन्त्र सक्रिय बनाएको हो।
महानगरको प्रशासन विभागका प्रमुख महेश काफ्ले ले ग्यास अभाव भएको भनी गलत सूचना फैलाएर मूल्य वृद्धि गराउने र सर्वसाधारणको जनजीवन असहज बनाउनेमाथि कारबाही गरिने बताएका छन्। उनका अनुसार नेपाल आयल निगम ले ग्यासको मूल्य प्रतिलिटर १ हजार ९१० रुपैयाँ तोकेको र सोही मूल्यमा खरिद–बिक्री गर्न व्यवसायी तथा उपभोक्तालाई आग्रह गरिएको छ।उनले उपभोक्ताले अभाव हुने डरले अत्यधिक ग्यास सञ्चिति गर्न थालेमा माग र आपूर्तिको चक्रमा असर पर्ने भएकाले जिम्मेवार भएर ग्यास खरिद गर्न पनि आग्रह गरेका छन्। सहज जनजीवनका लागि उपभोक्ता, उद्योग–वाणिज्य क्षेत्र र सरकार सबैले आ–आफ्नो दायित्व पूरा गर्नुपर्ने उनको भनाइ छ।
यस्तै पेट्रोल पम्पहरूले पनि मौज्दात इन्धन हुँदाहुँदै सवारी साधनलाई उपलब्ध नगराउने सूचना आएको भन्दै त्यसतर्फ पनि निगरानी सुरु गरिएको महानगरले जनाएको छ। ग्यास वा इन्धन अभाव सिर्जना गर्ने गतिविधि देखिएमा महानगरका हटलाइन नम्बर ११८० र ९८५१३५६५०९ मा जानकारी दिन सकिने व्यवस्था गरिएको छ।
ग्यास विक्रेता महासंघ नेपाल का अध्यक्ष ज्ञानेश्वर अर्याल का अनुसार भारतबाट आउने ग्यास आपूर्ति हाल नियमित रहेको छ। माग धेरै भएकाले केही स्थानमा अभाव देखिएको हो, तर उपभोक्ताले सञ्चितिका लागि अत्यधिक माग नगरे समस्या नदेखिने उनले बताए।

Online Arthik










