नेपालको कृषि क्षेत्रलाई प्रविधिमार्फत आधुनिकीकरण गर्ने उद्देश्यसहित सञ्चालनमा रहेको मेरो किसान लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। यसका लागि कम्पनीले प्रभु क्यापिटललाई बिक्री प्रबन्धकका रूपमा नियुक्त गरेको छ। कमलादीस्थित प्रभु क्यापिटलको कार्यालयमा आयोजित कार्यक्रममा दुवै पक्षबीच औपचारिक सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो।

कम्पनीले किसानहरूसँग प्रत्यक्ष सहकार्य गर्दै बीउ-बिजन उत्पादन, संकलन, भण्डारण तथा वितरण गर्दै आएको छ। साथै डिजिटल प्लेटफर्ममार्फत कृषि उपज सिधै उपभोक्तासम्म पुर्‍याउने कार्यलाई प्राथमिकता दिएको छ। आईपीओ निष्कासनपछि कम्पनी पूँजी बजारमार्फत सर्वसाधारणसँग जोडिने र कृषि क्षेत्रमा थप लगानी विस्तार गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।

व्यावसायिक योजनाअनुसार कम्पनीले चितवनको पटिहानीमा करिब ३.५ बिघा जग्गामा कृषि प्रशोधन केन्द्र र दूध डेरी निर्माण गरिरहेको छ। निर्माण कार्य अन्तिम चरणमा पुगेको छ र चालु आर्थिक वर्षभित्रै प्रशोधन केन्द्र सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ। साथै आगामी आर्थिक वर्षको पहिलो त्रैमाससम्म आधुनिक दूध डेरी सञ्चालन गर्ने तयारी पनि भइरहेको छ।

सम्झौता कार्यक्रममा मेरो किसान लिमिटेडका अध्यक्ष विष्णुमणी गौतम, प्रबन्ध सञ्चालक अविनाश सिलवाललगायतका प्रतिनिधिहरू तथा प्रभु क्यापिटलका प्रबन्ध सञ्चालक आशिष गौचनसहितका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया