नेपाल राष्ट्र बैंक को आह्वानमा विश्वभर मनाइने ‘ग्लोबल मनी विक २०२६’ को अवसरमा झापाको बिर्तामोड मा भव्य प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ। ‘स्मार्ट मनी टक्स’ भन्ने मूल नाराका साथ चैत २ गते सोमबार आयोजित कार्यक्रममा स्थानीय स्तरमा वित्तीय साक्षरता र सचेतनाको सन्देश प्रवाह गरिएको हो।
बिर्तामोडका विभिन्न स्थान परिक्रमा गरिएको प्रभातफेरीमा यहाँ सञ्चालनमा रहेका बैंक तथा वित्तीय संस्थाका करिब २५० जना कर्मचारीहरूको उत्साहजनक सहभागिता रहेको थियो। सहभागीहरूले सर्वसाधारणलाई वित्तीय अनुशासन, बचत गर्ने बानी, डिजिटल बैंकिङको सुरक्षित प्रयोग तथा जिम्मेवार खर्च र लगानीका विषयमा जानकारी गराएका थिए। सन् २०१२ देखि सुरु भएको Global Money Week हाल विश्वका १७० भन्दा बढी देशहरूमा किशोर तथा युवा वर्गलाई लक्षित गर्दै सप्ताहव्यापी रूपमा मनाइँदै आएको छ। यसको मुख्य उद्देश्य युवा पुस्तामा वित्तीय शिक्षाको महत्वबारे जागरण ल्याउनु हो।कार्यक्रमबारे प्रकाश पार्दै एक्सेल डेभलपमेण्ट बैंक का नायब महाप्रबन्धक अशोक क्षेत्री ले यस्ता अभियानले समाजमा सकारात्मक परिवर्तन ल्याउने बताएका छन्। उनका अनुसार वित्तीय साक्षरता कार्यक्रमले विशेष गरी युवा वर्गमा स्वस्थ वित्तीय बानी विकास गर्न, भविष्यका आर्थिक चुनौतीप्रति सचेत बनाउन र दीर्घकालीन वित्तीय योजना बनाउन महत्वपूर्ण भूमिका खेल्छ।
बिर्तामोडमा सम्पन्न यस प्रभातफेरीले सर्वसाधारणलाई औपचारिक बैंकिङ प्रणालीसँग जोडिन र आर्थिक रूपमा सशक्त बन्न प्रेरित गरेको विश्वास गरिएको छ।

Online Arthik










