नेपाल राष्ट्र बैंक ले आइतबार बजारबाट थप ५० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह बढेर तरलता अधिक भएपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रूपमा निक्षेप संकलन गर्न लागेको हो । यसअघि चैत १ गते २० अर्ब रुपैयाँ तानेको राष्ट्र बैंकले पुनः १४ दिनका लागि ५० अर्ब रुपैयाँ उठाउन लागेको हो, जसले छोटो अवधिमै निरन्तर रूपमा बजारबाट पैसा तान्ने नीति देखिएको छ ।

बैंकले बोलकबोल प्रक्रियामार्फत निक्षेप संकलन गर्नेछ, जसमा ब्याजदर पनि प्रतिस्पर्धात्मक बोलकबोलकै आधारमा निर्धारण हुनेछ । संकलित निक्षेपको साँवा तथा ब्याज भुक्तानी चैत २२ गते गरिने जनाइएको छ । निक्षेप दिन इच्छुक बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि आवेदन दिन सक्नेछन् भने ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् ।

‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले आइतबार दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टममार्फत आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।

तपाईको प्रतिक्रिया