सन् २०३५ सम्म देशमा क्षयरोग अन्त्य गर्ने तथा सन् २०५० सम्म नेपाललाई पूर्ण रूपमा क्षयरोगमुक्त बनाउने लक्ष्यका साथ यस वर्ष पनि विभिन्न कार्यक्रम गरी दिवस भव्य रूपमा मनाइँदैछ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यस वर्षको नाराले राष्ट्रिय अभियान, साझा जिम्मेवारी र जनसहभागिताको महत्वलाई विशेष रूपमा उजागर गरेको छ।

नेपालमा प्रमुख जनस्वास्थ्य समस्याका रूपमा रहेको क्षयरोगको पहिचान, निदान र जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले मन्त्रालयको अनुरोधमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई सक्रिय सहभागिताका लागि आग्रह गरेको छ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०२४ मा नेपालमा करिब ६७ हजार नयाँ क्षयरोगका बिरामी फेला परेका छन्। हाल देशभर ६ हजार २४१ स्वास्थ्य संस्थाबाट क्षयरोगको उपचार सेवा उपलब्ध छ भने ७८५ संस्थामा माइक्रोस्कोपी सेवा र १४२ संस्थामा द्रुत परीक्षण सेवा निःशुल्क रूपमा सञ्चालनमा छन्।

त्यस्तै, औषधि प्रतिरोधी क्षयरोग उपचारका लागि ३१ केन्द्र र ९८ उपकेन्द्र सञ्चालनमा रहेका छन् भने १४९ स्थानीय तहमा ‘क्षयरोगमुक्त नेपाल अभियान’ विस्तार गरिएको मन्त्रालयले जनाएको छ।

विशेषज्ञहरूका अनुसार तीन हप्ताभन्दा बढी समयसम्म खोकी लागेमा, खकारमा रगत देखिएमा, श्वासप्रश्वासमा समस्या, छाती दुख्ने, अकस्मात तौल घट्ने, अत्यधिक पसिना आउने वा थकान महसुस भएमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा जाँच गराउनुपर्ने हुन्छ। कमजोर रोगप्रतिरोध क्षमता भएका, धुमपान, मध्यपान वा लागुऔषध सेवन गर्ने व्यक्तिमा क्षयरोगको जोखिम बढी रहने बताइएको छ।

क्षयरोग पूर्ण रूपमा निको हुने रोग भएकाले औषधिको नियमित र पूर्ण सेवन अत्यन्त आवश्यक हुन्छ। साथै, रोग लाग्नुभन्दा रोकथाममा जोड दिनुपर्नेमा मन्त्रालयले विशेष आग्रह गरेको छ। जनचेतनामूलक कार्यक्रम, अन्तरक्रिया तथा उपलब्ध स्रोतसाधनको प्रभावकारी प्रयोगमार्फत क्षयरोग नियन्त्रण अभियानलाई थप सशक्त बनाउन स्थानीय तहलाई आह्वान गरिएको छ।

तपाईको प्रतिक्रिया