सालमनीदेवी हाइड्रोपावर लिमिटेडले साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित स्थानीयवासी तथा सर्वसाधारणका लागि समान परिमाणमा शेयर जारी गर्ने तयारी गरेको हो।
कम्पनीका अनुसार आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ लाख ५० हजार कित्ता र सर्वसाधारणका लागि पनि सोही दरमा ८ लाख ५० हजार कित्ता शेयर निष्काशन गरिनेछ।उक्त आईपीओ निष्काशनका लागि लक्ष्मी सन्राइज क्यापिटल लिमिटेड लाई निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा नियुक्त गरिएको छ। यस सम्बन्धी सम्झौतामा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ तथा हाइड्रोपावर कम्पनीका सञ्चालक पेरश दाहालले हस्ताक्षर गरेका छन्।
सालमनीदेवी हाइड्रोपावर लिमिटेडले डोटी जिल्ला मा ३.३३ मेगावाट क्षमताको कापडीगाड जलविद्युत् आयोजना सञ्चालन गर्दै आएको छ। उक्त आयोजना २०७६ सालदेखि व्यावसायिक उत्पादनमा आएको हो।कम्पनीले आईपीओमार्फत सर्वसाधारणको सहभागिता बढाउँदै ऊर्जा क्षेत्रमा थप लगानी आकर्षित गर्ने लक्ष्य लिएको जनाएको छ। यसबाट स्थानीय स्तरमा आर्थिक गतिविधि वृद्धि हुनुका साथै ऊर्जा क्षेत्रको विस्तारमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।
ऊर्जा क्षेत्रमा लगानी बढ्दै गएको सन्दर्भमा साना तथा मझौला जलविद्युत् आयोजनाहरूले पूँजी बजारमार्फत स्रोत जुटाउने क्रम तीव्र बन्दै गएको छ। यसले नेपालमा ऊर्जा आत्मनिर्भरता हासिल गर्ने दीर्घकालीन लक्ष्यलाई समेत सहयोग पुर्याउने विश्वास गरिएको छ।

Online Arthik










