कालंगा हाइड्रो लिमिटेडले आजदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लक्षित गरी आईपीओ निष्कासन गरेको हो।
कम्पनीले १ अर्ब ४० करोड रुपैयाँ जारी पूँजीको ३५ प्रतिशत बराबर प्रतिकित्ता १०० रुपैयाँका दरले ४९ लाख कित्ता साधारण सेयर निष्कासन गर्न अनुमति पाएको थियो। जसमध्ये १४ लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ।
उक्त १४ लाख कित्तामध्ये ९ लाख १० हजार कित्ता अति प्रभावित क्षेत्र अन्तर्गत बझाङ जिल्लाको केदारस्यूँ गाउँपालिका वडा नं. ४ र ५, बित्थडचिर गाउँपालिका वडा नं. ६ र ८, बुंगल नगरपालिका वडा नं. ३, ४, ५, ६ र ८, बैतडी जिल्लाको डिलासैनी गाउँपालिका वडा नं. १ र २ तथा दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका वडा नं. १ का स्थायी बासिन्दाका लागि छुट्याइएको छ।
बाँकी ४ लाख ९० हजार कित्ता सेयर भने बझाङ, बैतडी र दार्चुलाका सम्बन्धित स्थानीय तहका अन्य (अति प्रभावित बाहेक) वडाका स्थायी बासिन्दाका लागि छुट्याइएको छ।
यसैगरी सर्वसाधारणतर्फ छुट्याइएको सेयरमध्ये १० प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको छ। यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
आयोजना प्रभावित स्थानीयका लागि आवेदन दिने अवधि छिटोमा चैत २४ गतेसम्म रहनेछ भने सबै सेयर बिक्री नभएमा ढिलोमा वैशाख ९ गतेसम्म खुला रहनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने आवेदन अवधि छिटोमा चैत १५ गतेसम्म र ढिलोमा चैत २४ गतेसम्म तोकिएको छ।
आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा सानिमा क्यापिटल लिमिटेड रहेको छ। स्थानीय बासिन्दाले बिक्री प्रबन्धक, आयोजनास्थलको कार्यालय तथा तोकिएका बैंक शाखाबाट आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीले सी–आस्बा प्रणाली तथा ‘मेरो सेयर’मार्फत अनलाइन आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

Online Arthik










