दुबईको बन्दरगाह क्षेत्रमा कुवेतको पूर्ण रूपमा तेल बोकेको ट्यांकरमाथि आक्रमण भएपछि मध्यपूर्वमा तनाव थप चर्किएको छ। इरानले सोमबार दुबई पोर्टको एंकरिज क्षेत्रमा रहेको ‘अल सल्मी’ नामक कच्चा तेल ट्यांकरमा आक्रमण गरी आगो लगाएको कुवेत न्युज एजेन्सीले जनाएको छ।
कुवेत पेट्रोलियम कपोरेशन (केपीसी) का अनुसार आक्रमणपछि ट्यांकरमा संरचनात्मक क्षति पुगेको छ र तेल चुहावटको जोखिम रहेको चेतावनी दिइएको छ। दुबईका अधिकारीहरूले यो घटना ड्रोन आक्रमण भएको पुष्टि गरेका छन् भने समुद्री अग्निनियन्त्रण टोलीले आगो निभाउने प्रयास गरिरहेका छन्। घटनामा संलग्न २४ जना चालकदल सुरक्षित रहेको र कुनै मानवीय क्षति नभएको बताइएको छ। उक्त ट्यांकरमा कुवेत र साउदी अरेबियाबाट ल्याइएको करिब २० लाख ब्यारेल कच्चा तेल लोड गरिएको थियो र यसको गन्तव्य किङडो, चाइना रहेको जनाइएको छ।यस घटनाको जिम्मेवारी कसैले औपचारिक रूपमा लिएको छैन भने इरानी अधिकारीहरूको प्रतिक्रिया तत्काल प्राप्त हुन सकेको छैन। तर यो आक्रमण फेब्रुअरी २८ मा युनाइटेड स्टेट र इजराइलले इरानमाथि गरेको हमलापछि खाडी क्षेत्र र स्ट्रेट अफ होर्मुज वरपर भइरहेका आक्रमणहरूको पछिल्लो कडीका रूपमा हेरिएको छ।उही दिन साउदी अरेबियाको रस तनुरा तट नजिक ग्रीक स्वामित्वको ‘एक्सप्रेस रोम’ जहाज नजिक पनि अज्ञात प्रक्षेप्य पानीमा खसेको घटना सार्वजनिक भएको छ। चालकदल भने सुरक्षित रहेको अन्तर्राष्ट्रिय समुद्री सुरक्षा निकायहरूले जनाएका छन्।यस घटनाले अन्तर्राष्ट्रिय तेल बजारमा तुरुन्त प्रभाव देखिएको छ। आक्रमणपछि ब्रेन्ट क्रुडको मूल्य २ प्रतिशतभन्दा बढी बढेर प्रति ब्यारेल ११५.१७ डलर पुगेको थियो, यद्यपि पछि केही गिरावट आएको बताइएको छ।विश्लेषकहरूका अनुसार मध्यपूर्वमा बढ्दो द्वन्द्वका कारण मार्च महिनामा मात्र ब्रेन्ट क्रुडको मूल्य करिब ५९ प्रतिशतले वृद्धि भएको छ, जुन ऐतिहासिक रूपमा उच्च मासिक वृद्धिमा पर्छ। ऊर्जा विज्ञहरूका अनुसार यस्तो आक्रमणले विश्व बजारमा “रिस्क प्रिमियम” थप्ने, ढुवानी लागत र बीमा शुल्क बढाउने तथा दीर्घकालमा आपूर्ति श्रृंखलामा गम्भीर असर पार्ने सम्भावना हुन्छ।
समग्रमा, दुबईमा भएको यो आक्रमणले विश्व ऊर्जा सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ र यसको प्रभाव विश्व तेल बजारमा दीर्घकालीन रूपमा देखिन सक्ने संकेत गरेको छ।

Online Arthik










