ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि ले सन् २०२५ मा ८८ करोड रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ६.१५ प्रतिशत (५ करोड १० लाख रुपैयाँ) ले बढी हो। सन् २०२४ मा अस्पतालले ८२ करोड ८९ लाख रुपैयाँ आम्दानी गरेको थियो।
अस्पतालको आम्दानी पछिल्ला वर्षहरूमा निरन्तर बढ्दो क्रममा देखिएको छ। सन् २०२३ मा ७२ करोड ४० लाख रुपैयाँ र सन् २०२२ मा ७० करोड १० लाख रुपैयाँ सञ्चालन आम्दानी भएको थियो। अस्पतालले विशेषगरी गाइनेकोलोजी सेवाबाट आम्दानी वृद्धि भएको जनाएको छ।सन् १९९५ डिसेम्बरमा स्थापना भएको यस अस्पतालले हाल १७५ शय्याबाट विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ। यहाँ सामान्य उपचारदेखि जटिल शल्यक्रिया, परीक्षण सेवा, २४ सै घण्टा आकस्मिक सेवा, आईसीयू तथा क्रिटिकल केयर सुविधा उपलब्ध छन्। साथै, ओपीडी र आईपीडी सेवा विभिन्न प्रमुख विधामा सञ्चालनमा छन्।अस्पतालअन्तर्गत आईभीएफ, डायलाइसिस, अन्कोलोजी, इमेजिङ तथा प्रयोगशाला सेवा, फिजियोथेरापी, वेलनेस तथा निवारक क्लिनिकहरू पनि सञ्चालनमा छन्। कम्पनीका प्रमुख सेयरधनीमा भोलाप्रसाद रिजाल (५.८५%) र विजय मल्ल (५.०९%) रहेका छन्।अस्पतालका अध्यक्ष डा. आनन्द प्रसाद श्रेष्ठ हुन् भने प्रमुख कार्यकारी अधिकृत (सीईओ) यम बहादुर महतले व्यवस्थापन सम्हालिरहेका छन्। सञ्चालक समितिमा अनुभवी चिकित्सक तथा व्यवसायीहरूको सहभागिता रहेको छ।अस्पतालका अनुसार बढ्दो प्रति व्यक्ति आम्दानी, स्वास्थ्य बीमाको पहुँच विस्तार, गुणस्तरीय स्वास्थ्य सेवाप्रतिको जागरूकता, प्रविधिको विकास र जीवनशैलीजन्य रोगको वृद्धिले स्वास्थ्य सेवाको माग बढाएको छ।यसै सन्दर्भमा अस्पतालले हालको १७५ शय्यालाई विस्तार गरी २०० शय्यामा पुर्याउने योजना बनाएको छ। ८,५५४.१९ वर्ग मिटर क्षेत्रफलमा १०,४२३.२२ वर्ग मिटर निर्माण क्षेत्रसहित नयाँ संरचना तयार गरिँदैछ।
अस्पतालले विस्तार तथा सञ्चालनका लागि विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ४२ करोड ८५ लाख रुपैयाँ दीर्घकालीन र १६ करोड रुपैयाँ अल्पकालीन गरी कुल ५८ करोड ८५ लाख रुपैयाँ ऋण लिएको जनाएको छ।

Online Arthik










