आँखुखोला जलविद्युत कम्पनी लिमिटेडमा ठूलो स्वामित्व परिवर्तन भएको छ। कम्पनीका संस्थापक तथा पुराना प्रवर्द्धकहरूले आफ्नो अधिकांश सेयर बिक्री गरेर बाहिरिएपछि दोस्रो बजारका लगानीकर्ताहरूको नयाँ समूहले कम्पनीको नेतृत्व आफ्नो नियन्त्रणमा लिएको छ।
लामो समयदेखि संस्थापक पक्ष र सञ्चालकहरूबीचको विवादका कारण कम्पनीको वार्षिक साधारणसभा हुन सकेको थिएन। यही विवादका कारण आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ को साधारणसभा समेत रोकिएको थियो। तर आइतबार सम्पन्न संयुक्त साधारणसभाले कम्पनीमा नयाँ नेतृत्वको औपचारिक प्रवेश गराएको छ।साधारणसभाबाट दोस्रो बजारमार्फत सेयर खरिद गरेका पाँच जना लगानीकर्ता सञ्चालक समितिमा निर्वाचित भएका छन्। निर्वाचित सञ्चालकहरूमा लेखनाथ पोखरेल, सुवास पौडेल, सविन्द्र उपाध्याय, जोली अमात्य र रामप्रसाद सापकोटा रहेका छन्। यससँगै कम्पनीको सञ्चालक समितिमा चार पुरुष र एक महिला सदस्यको प्रतिनिधित्व सुनिश्चित भएको छ।स्रोतका अनुसार नयाँ लगानीकर्ता समूहले बजारबाट ५१ प्रतिशतभन्दा बढी सेयर खरिद गरी कम्पनीमाथि प्रभावशाली नियन्त्रण स्थापित गरेको हो। कम्पनीमा हाल करिब २ करोड कित्ता सेयर रहेको भए पनि पुराना संस्थापकहरूको स्वामित्व झन्डै १ लाख कित्तामा सीमित भएको बताइन्छ। यसले कम्पनी स्थापना गर्ने समूहको स्वामित्व लगभग समाप्तप्रायः अवस्थामा पुगेको संकेत गरेको छ।हाल सञ्चालक समितिमा इन्द्रकृष्ण श्रेष्ठ र गंगासागर प्रजापती पुरानो संस्थापक समूहका प्रतिनिधिका रूपमा कायम रहेका छन्। तर उनीहरूको सेयर स्वामित्व अत्यन्त न्यून भएपछि कम्पनीको वास्तविक नियन्त्रण भने नयाँ लगानीकर्ता समूहमा केन्द्रित भएको देखिन्छयो घटना नेपालका जलविद्युत कम्पनीहरूमा स्वामित्व संरचना परिवर्तनको अर्को महत्वपूर्ण उदाहरणका रूपमा हेरिएको छ। यसअघि पनि एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडमा संस्थापकहरूले सेयर बिक्री गरी बाहिरिएपछि दोस्रो बजारका लगानीकर्ताहरूले कम्पनीको नेतृत्व आफ्नो हातमा लिएका थिए। आँखुखोला जलविद्युतमा देखिएको पछिल्लो परिवर्तनलाई सोही प्रवृत्तिको निरन्तरता मानिएको छ।
विश्लेषकहरूका अनुसार संस्थापक समूहले क्रमशः सेयर बिक्री गरेर बाहिरिने र दोस्रो बजारका लगानीकर्ताहरूले कम्पनीको नियन्त्रण लिने प्रवृत्ति बढ्दै जाँदा कम्पनीहरूको स्वामित्व संरचना, व्यवस्थापन शैली तथा दीर्घकालीन रणनीतिमा समेत महत्वपूर्ण परिवर्तन देखिन सक्नेछ।

Online Arthik










