बैंकिङ कसुरसम्बन्धी मुद्दामा पक्राउ परेका चर्चित नेपाली सेफ सन्तोष साह लाई जिल्ला अदालत काठमाडौंले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार सोमबार अदालतले साहविरुद्ध प्रारम्भिक अनुसन्धानका लागि तीन दिनको म्याद दिएको हो।उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई धनुषाबाट पक्राउ गरी काठमाडौं ल्याएको थियो। त्यसपछि थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, भद्रकालीमा बुझाइएको थियो।यसै प्रकरणमा प्रहरीले रेष्टुरेन्टका अर्का सञ्चालक नारायण साह सुडी लाई पनि पक्राउ गरेको छ। अदालतले सुडीलाई समेत तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। प्रहरीका अनुसार दुवै जनामाथि गैरीधारामा सञ्चालन गर्न खोजिएको रेष्टुरेन्टसँग सम्बन्धित बैंकिङ कसुरको आरोपमा अनुसन्धान भइरहेको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
सेफ सन्तोष साह नेपाली परिकारलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने व्यक्तित्वका रूपमा चिनिन्छन्। उनी बेलायतस्थित लोकप्रिय पाककला प्रतियोगिता MasterChef: The Professionals मा उत्कृष्ट प्रदर्शन गरेपछि चर्चामा आएका थिए।

Online Arthik










