कुमारी बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित Infosys Finacle Innovation Awards 2026 अन्तर्गत Business Model Innovation विधामा उच्चतम प्ल्याटिनम अवार्ड बाट सम्मानित भएको छ।

बैंकले ग्राहक पहिचान तथा अनुपालन प्रक्रिया (KYC Workflow Compliance) मा गरेको नवप्रवर्तनात्मक पहलका लागि उक्त सम्मान प्राप्त गरेको जनाएको छ। बैंकद्वारा विकास गरिएको प्रणालीले ग्राहक पहिचान प्रक्रियालाई थप छरितो, सुरक्षित र प्रभावकारी बनाउनुका साथै नियामकीय मापदण्डहरूको प्रभावकारी पालना गर्न सहयोग पुर्‍याएको बताइएको छ।

प्रत्येक वर्ष Infosys Finacle द्वारा आयोजना गरिने यस अवार्ड कार्यक्रममा विश्वभरका बैंक तथा वित्तीय संस्थाहरूले गरेका उत्कृष्ट नवप्रवर्तन र डिजिटल रूपान्तरणका अभ्यासहरूको मूल्याङ्कन गरिन्छ। यस वर्ष ९ विभिन्न विधामा ५०० भन्दा बढी आवेदन परेका थिए, जसबाट कुमारी बैंकले आफ्नो केवाईसी कार्यप्रवाह अनुपालन प्रणालीमार्फत उत्कृष्ट प्रदर्शन गर्दै प्ल्याटिनम सम्मान हासिल गरेको हो।बैंकका अनुसार उक्त प्रणालीले डिजिटल प्रविधिको प्रयोगमार्फत सेवा प्रवाहलाई अझ पारदर्शी, भरोसायोग्य र ग्राहकमैत्री बनाउन महत्वपूर्ण योगदान पुर्‍याएको छ। साथै, अनुपालन व्यवस्थापनलाई सुदृढ गर्दै सञ्चालन दक्षता वृद्धि गर्न समेत मद्दत पुगेको जनाएको छ।

यस अन्तर्राष्ट्रिय सम्मानसँगै कुमारी बैंकले सुरक्षित, भरपर्दो तथा ग्राहककेन्द्रित बैंकिङ सेवा प्रदान गर्ने आफ्नो प्रतिबद्धता थप मजबुत भएको जनाएको छ। बैंकले आगामी दिनमा पनि डिजिटल समाधानको विस्तार गर्दै ग्राहकलाई अझ सहज, विश्वसनीय र उत्कृष्ट बैंकिङ अनुभव प्रदान गर्न निरन्तर काम गर्ने बताएको छ।

तपाईको प्रतिक्रिया