विश्वकै अग्रणी प्रविधि कम्पनी माइक्रोसफ्टले ४ हजार ८०० कर्मचारीको रोजगारी कटौती गर्ने घोषणा गरेको छ। यो संख्या कम्पनीको कुल कर्मचारी संख्याको करिब २ दशमलव १ प्रतिशत हो।
कम्पनीको पछिल्लो पुनर्संरचना योजनाअन्तर्गत सबैभन्दा ठूलो प्रभाव यसको खेलसम्बन्धी शाखा ‘एक्सबक्स’मा पर्ने भएको छ। माइक्रोसफ्टकी कार्यकारी उपाध्यक्ष एमी कोलम्यानले कर्मचारीलाई पठाएको सन्देशमा तीव्र रूपमा परिवर्तन भइरहेको प्रविधि क्षेत्रमा ग्राहकलाई बढी मूल्य प्रदान गर्ने क्षेत्रमा कम्पनीले आफ्नो ध्यान केन्द्रित गर्नुपर्ने बताएकी छन्। पुनर्संरचनाको पहिलो चरणमा एक्सबक्स शाखामा एक हजार ६ सयभन्दा बढी पद तत्काल हटाइनेछ। साथै, आगामी एक वर्षभित्र थप रोजगारी कटौती गर्ने योजना पनि कम्पनीले बनाएको छ।हालै एक्सबक्सको नेतृत्व सम्हालेकी आशा शर्माले कर्मचारीलाई पठाएको सन्देशमा कम्पनीले एक्सबक्सको इतिहासकै सबैभन्दा ठूलो पुनर्संरचना प्रक्रिया सुरु गरेको उल्लेख गरेकी छन्। उनका अनुसार यी परिवर्तन एक्सबक्सलाई सानो बनाउन नभई भविष्यमा अझ सुदृढ, प्रतिस्पर्धी र विस्तारयोग्य बनाउन गरिएको हो।पुनर्संरचनाअन्तर्गत केही खेल विकास गर्ने स्टुडियोहरूको संरचनामा पनि परिवर्तन गरिनेछ। कम्पनीले कम्पल्सन गेम्स, डबल फाइन प्रोडक्सन्स, निन्जा थ्योरी र अनडेड ल्याब्सलगायतका स्टुडियोको पुनर्गठन गर्ने योजना बनाएको जनाएको छ।
आशा शर्माले लामो समयदेखि सफल रहेका कम्पनीहरूले पनि बदलिँदो बजारअनुसार आफूलाई समयमै परिवर्तन गर्न नसके भविष्यमा चुनौती सामना गर्नुपर्ने भएकाले दीर्घकालीन वृद्धि र प्रतिस्पर्धात्मक क्षमता सुदृढ बनाउन रणनीतिमा परिवर्तन गरिएको बताएकी छन्।

Online Arthik










