बर्डफ्लूका कारण प्रभावित ११ जिल्लाका किसानलाई सरकारले करिब ५२ करोड रुपैयाँ राहत उपलब्ध गराउने तयारी गरेको छ। पशु सेवा विभागले रोग नियन्त्रणका क्रममा नष्ट गरिएका कुखुरा, अण्डा र दानाको क्षतिपूर्तिस्वरूप सम्बन्धित किसानलाई एक साताभित्र राहत रकम वितरण गर्ने जनाएको हो।
विभागका अनुसार रोग नियन्त्रणका क्रममा नष्ट गरिएका पन्छी, अण्डा तथा दानाको प्रमाणित क्षतिको मूल्यांकनका आधारमा ७५ प्रतिशत रकम राहतस्वरूप उपलब्ध गराइनेछ। क्षति प्रमाणित गरी दाबी गरेका किसानको बैंक खातामै रकम जम्मा गरिने व्यवस्था गरिएको छ। विभागका प्रवक्ता मुकुल उपाध्यायले आवश्यक कागजातसहित क्षति दाबी गरेका किसानलाई एक साताभित्र रकम उपलब्ध गराउने तयारी भइरहेको जानकारी दिए। उनका अनुसार चालु आर्थिक वर्षको असार मसान्तसम्म क्षतिपूर्ति लिन नसकेका किसानले नयाँ आर्थिक वर्षमा पनि राहत रकम प्राप्त गर्नेछन्।बर्डफ्लू नियन्त्रण नियमावलीअनुसार प्रमाणित क्षतिको मूल्यांकन गरी राहत वितरण गरिने विभागले जनाएको छ। साथै, पन्छी तथा पन्छीजन्य वस्तु नष्ट गरिएको प्रमाणसहित सम्बन्धित जिल्ला पशु सेवा कार्यालयमा निवेदन दिन प्रभावित किसानलाई विभागले आग्रह गरेको छ।
बर्डफ्लू संक्रमणका कारण काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासी बढी प्रभावित भएका छन्। विभागका अनुसार हालसम्म करिब ७ लाख पन्छी, ११ लाख अण्डा र ३ लाख किलोग्राम दाना नष्ट गरिएको छ। यसबाट करिब ७० करोड रुपैयाँ बराबरको आर्थिक क्षति भएको अनुमान गरिएको छ।

Online Arthik










