हकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित शिव शिखर सहकारीका थप ५६ जना साना बचतकर्तालाई बचत रकम फिर्ता गरेको छ। समितिले बचतकर्ताको हितलाई प्राथमिकतामा राख्दै कानुनी प्रक्रियाअनुसार बचत फिर्ता गर्ने अभियानलाई निरन्तरता दिएको जनाएको छ।

समितिका अनुसार हालसम्म शिव शिखर सहकारीका करिब १,४०० जना बचतकर्ताले आफ्नो बचत रकम फिर्ता प्राप्त गरिसकेका छन्। पहिलो चरणमा न्यून रकम बचत गरेका बचतकर्तालाई प्राथमिकताका आधारमा भुक्तानी गरिएको हो। समितिले आगामी चरणमा पनि बचत रकमको परिमाणका आधारमा बचतकर्तालाई वर्गीकरण गर्दै क्रमिक रूपमा रकम फिर्ता गरिने जानकारी दिएको छ।

सरकारले समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनमार्फत प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिरहेको स्पष्ट पारेको छ। सहकारीका विभिन्न सम्पत्तिको व्यवस्थापन, ऋण असुली तथा अन्य कानुनी प्रक्रियाबाट संकलन भएको रकम बचतकर्ताको हितमा प्रयोग भइरहेको समितिको भनाइ छ।

समितिले समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापनको कामलाई अझ प्रभावकारी बनाइएको उल्लेख गर्दै त्यसबाट प्राप्त रकम प्रचलित कानुनी व्यवस्थाअनुसार सम्बन्धित सहकारीका बचतकर्तालाई वितरण गर्ने कार्य निरन्तर जारी रहने जनाएको छ।

सहकारीमा बचत गरेका सर्वसाधारणको रकम सुरक्षित रूपमा फिर्ता गराउने सरकारको प्रतिबद्धताअनुसार समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले चरणबद्ध रूपमा बचत फिर्ता प्रक्रिया अघि बढाइरहेको छ। समितिले बचतकर्तालाई धैर्य गर्न आग्रह गर्दै उपलब्ध स्रोत र कानुनी प्रक्रियाका आधारमा सबै योग्य बचतकर्तालाई क्रमशः रकम फिर्ता गरिने विश्वास व्यक्त गरेको छ।

तपाईको प्रतिक्रिया