सरकारले आन्दोलनरत लघुवित्त पीडितका माग सम्बोधन गर्ने उद्देश्यले वार्ता टोली गठन गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बिहीबार मन्त्रिस्तरीय निर्णय गर्दै अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा वार्ता समिति गठन गरेका हुन्।
समितिमा कानुन मन्त्रालयका सहसचिव विनोदकुमार भट्टराई, गृह मन्त्रालयका सहसचिव सुरेश पन्थी तथा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेल सदस्य छन्। अर्थ मन्त्रालयका उपसचिव बोलराज आचार्यलाई समितिको सदस्य सचिवको जिम्मेवारी दिइएको छ।
अर्थमन्त्री वाग्लेले समितिलाई तत्काल आन्दोलनरत लघुवित्त पीडितसँग संवाद प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन्। सोहीअनुसार समितिको पहिलो बैठक बिहीबार अर्थ मन्त्रालयमा बस्दै छ। बैठकले वार्ताको कार्ययोजना तय गर्दै आजैदेखि पीडित पक्षसँग छलफल सुरु गर्ने तयारी गरेको जनाइएको छ।
सरकारले वार्तामार्फत आन्दोलनरत पक्षका माग, समस्या र सम्भावित समाधानका विषयमा सहमतिमा पुग्ने लक्ष्य लिएको जनाएको छ।

Online Arthik










