प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को मुस्ताङ भ्रमणबारे जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय मुस्ताङले अहिलेसम्म आधिकारिक जानकारी नपाएको पाइएको छ।

प्रधानमन्त्री सडकमार्ग हुँदै पोखरा भएर मुस्ताङ जाने कार्यक्रम रहेको बताइए पनि शुक्रबार बिहान ११ बजेसम्म जिल्ला प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीलाई भ्रमणबारे औपचारिक जानकारी प्राप्त नभएको जनाइएको छ। मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी एकनारायण भण्डारीले प्रधानमन्त्रीको मुस्ताङ भ्रमणबारे सञ्चारमाध्यममार्फत मात्र जानकारी पाएको बताए। उनका अनुसार कार्यालयमा भने भ्रमणसम्बन्धी कुनै आधिकारिक खबर आएको छैन।त्यस्तै, जिल्ला प्रहरी कार्यालय मुस्ताङले पनि प्रधानमन्त्रीको भ्रमणबारे औपचारिक जानकारी नआएको जनाएको छ। यद्यपि, सञ्चारमाध्यमबाट भ्रमणबारे जानकारी पाएपछि सुरक्षा व्यवस्थाका लागि आन्तरिक तयारी भइरहेको प्रहरीले जनाएको छ।

प्रधानमन्त्री बालेनले यसपटक मुस्ताङ पुगेर मुक्तिनाथ दर्शन गर्ने कार्यक्रम रहेको बताइए पनि यसको आधिकारिक पुष्टि भने भएको छैन। प्रधानमन्त्री कार्यालयका सचिवालय सदस्यहरूले प्रधानमन्त्रीको दैनिक कार्यतालिकाबारे जानकारी दिन असहज मान्ने गरेका छन् भने यस विषयमा सम्पर्क गर्दा फोनसमेत नउठाउने गरेको बताइएको छ।

तपाईको प्रतिक्रिया