ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले निर्माणाधीन प्रसारण लाइन आयोजनामा देखिएका समस्या समाधान गर्न अन्तरमन्त्रालय समन्वय तीव्र बनाएको छ। ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले प्रसारण लाइन समयमै सम्पन्न गराउन आयोजना प्रमुखसँग छलफल गरी अवरोध पहिचान तथा समाधानको पहल थालेका हुन्।

मन्त्रालयले बिहीबार १२ वटा प्रसारण लाइन आयोजनाका प्रमुखसँग प्रगति र निर्माणमा देखिएका समस्याबारे जानकारी लिएको थियो। वन क्षेत्रका रुख कटान, सडक विभागसँग सम्बन्धित पोल तथा टावर स्थानान्तरणलगायतका समस्या मुख्य चुनौतीका रूपमा देखिएका छन्। छलफलमा सहभागी आयोजनाहरू यसै वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित अघि बढिरहेको जनाइएको छ। इनरुवा–विराटनगर प्रसारण लाइनको काम तीन महिनाभित्र सक्ने गरी समन्वय गरिएको छ भने हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको वनसम्बन्धी समस्या समाधान भइसकेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार आगामी ६ महिनादेखि एक वर्षभित्र अधिकांश प्रसारण लाइन राष्ट्रिय ग्रिडमा जोडिने अपेक्षा गरिएको छ। मन्त्री श्रेष्ठले अन्तरमन्त्रालय समन्वयबाट समाधान गर्न सकिने समस्या तत्काल सम्बोधन गर्ने प्रतिबद्धता जनाउँदै निर्धारित समयमै आयोजना सम्पन्न गर्न निर्देशन दिएका छन्।

तपाईको प्रतिक्रिया