तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरमा १९औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी सुरु भएको छ। फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) को आयोजनामा ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने नारासहित सुरु भएको प्रदर्शनी पाँच दिनसम्म सञ्चालन हुनेछ।

प्रदर्शनीमा कुल ८६ वटा स्टल राखिएका छन्। तीमध्ये ७८ वटा व्यावसायिक, एक प्लान्ट क्लिनिक, चार अफिसियल, दुई प्रतियोगितात्मक र एक फोटो सेल्फी स्टल रहेका छन्। मेलामा नेपालमा उत्पादित विभिन्न जातका गोदावरी फूलसँगै यस वर्ष भित्रिएका नयाँ प्रजातिसहित ४५० भन्दा बढी प्रकारका फूल तथा बिरुवा प्रदर्शनी र बिक्रीका लागि राखिएका छन्। आयोजकका अनुसार सहभागी नर्सरी तथा फार्मबीच मिनियचर, स्पाइडर, रिफ्लेक्स, इन्कर्भ र कट फ्लावर गरी गोदावरीका पाँच विधामा प्रतिस्पर्धा भइरहेको छ। यस वर्ष उत्कृष्ट स्टलसँगै उत्कृष्ट पुष्प सजावट विधासमेत थपिएको छ। विभिन्न विधामा विजयी हुनेलाई सिल्ड, नगद र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।तिहार नजिकिएसँगै फूलको माग बढ्ने भएकाले प्रदर्शनीमा सर्वसाधारणदेखि व्यवसायीसम्मको उल्लेख्य सहभागिता हुने अपेक्षा गरिएको छ। फ्यानले पाँच दिनको अवधिमा ३९ हजारभन्दा बढी दर्शकले प्रदर्शनी अवलोकन गर्ने र १ करोड ३० लाख रुपैयाँभन्दा बढीको कारोबार हुने अनुमान गरेको छ।

प्रदर्शनीले स्वदेशी पुष्प व्यवसायको प्रवर्द्धन, नयाँ प्रजातिबारे जानकारी विस्तार तथा उत्पादकलाई प्रत्यक्ष बजार उपलब्ध गराउन सहयोग पुग्ने विश्वास आयोजकले लिएको छ।

तपाईको प्रतिक्रिया