प्रधानमन्त्री बालेन्द्र शाह आइतबार भारतको दुईदिने राजकीय भ्रमणमा जाने भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री शाह मंसिर ६ र ७ गते भारत भ्रमणमा जान लागेका हुन् ।
परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमार्फत प्रधानमन्त्रीको भारत भ्रमणबारे जानकारी दिएका हुन् । उनका अनुसार प्रधानमन्त्री शाह मंसिर ६ गते आइतबार मध्याह्न १ बजेर ४५ मिनेटमा नेपाल वायुसेवाको नियमित उडानमार्फत भारत प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकार तथा उच्चपदस्थ सरकारी अधिकारीसहित ३४ सदस्य सहभागी हुनेछन् । त्यस्तै, निजी क्षेत्रबाट ५२ सदस्यीय उद्योगी तथा व्यवसायीको टोली आफ्नै खर्चमा भ्रमणमा सहभागी हुने सचिव राईले जानकारी दिएका छन् । भ्रमणको रिपोर्टिङका लागि विभिन्न सञ्चारमाध्यमका पत्रकारसमेत निजी खर्चमा भारत जानेछन् भने नयाँ दिल्लीस्थित नेपाली दूतावासका राजदूतसहित केही सदस्य पनि भ्रमण टोलीमा सहभागी हुनेछन् ।भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम रहेको छ । त्यसपछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्नेछन् भने प्रधानमन्त्री मोदीले नेपाली प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोज आयोजना गर्ने कार्यक्रम छ । प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र विदेशमन्त्री एस जयशंकरसँग पनि शिष्टाचार भेटवार्ता गर्नेछन् । साथै, नयाँ दिल्लीस्थित राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रमसमेत रहेको छ ।भ्रमणका क्रममा नेपाल र भारतबीच ऊर्जा सहकार्य तथा सम्पर्क सञ्जाल विस्तारसँग सम्बन्धित परियोजनाको उद्घाटन र नयाँ परियोजनाको शिलान्यास गर्ने तयारी गरिएको छ । त्यस्तै, शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन तथा मानव संसाधनलगायतका क्षेत्रमा सहकार्य विस्तार गर्न विभिन्न समझदारीपत्र आदानप्रदान गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सचिव राईका अनुसार भ्रमणका क्रममा हुने व्यवसायीबीचको छलफलले दुई देशबीच व्यापार, लगानी तथा आर्थिक सहकार्य विस्तार गर्न महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।


Online Arthik










