कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको १६औँ वार्षिक साधारण सभा आगामी पुस ३० गते आयोजना हुने भएको छ । पुस ८ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकको निर्णयअनुसार उक्त सभा पोखरामा रहेको होटल टास्क इन्टरनेशनलमा बिहान ९ बजेदेखि सुरु हुनेछ ।
सभामा गत आर्थिक वर्षका लागि प्रस्तावित १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरणसम्बन्धी प्रस्ताव पारित गरिनेछ ।यसैगरी, सर्वसाधारण समूहको सेयर स्वामित्व ४५.४८ प्रतिशत र संस्थापक समूहको ५४.५२ प्रतिशत कायम गर्ने तथा एक वा एकभन्दा बढी वित्तीय संस्थासँग गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने र सो कार्यका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि सभामा पेश गरिनेछ ।सभामा आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरूमाथि छलफल गरी अनुमोदन गरिनेछ । साथै, चालु आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत पारित गरिनेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि संस्थाले पुस २१ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको थियो । यस अनुसार पुस २० गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका सेयरधनीहरू मात्र उक्त सभामा सहभागी हुन तथा लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

Online Arthik










