नेपाल राष्ट्र बैंकले अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यले आज २० अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ। केन्द्रीय बैंकले अनलाइन बोलकबोल प्रणालीमार्फत ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ङ’ नामक १ वर्षे अवधिको ऋणपत्र बिक्री गर्न लागेको हो।

राष्ट्र बैंकका अनुसार उक्त ऋणपत्रको साँवा भुक्तानी २०८३ पुस २३ गते हुनेछ भने ब्याज भुक्तानी अर्धवार्षिक रूपमा गरिनेछ। ऋणपत्रको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था (काउन्टरपार्टी) मात्र सहभागी हुन पाउने व्यवस्था गरिएको छ।ऋणपत्रको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ र बहुब्याजदरमा समेत बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। ऋणपत्रको ब्याजदर बोलकबोल प्रक्रियाबाट नै निर्धारण हुनेछ। बोलकबोल प्रक्रिया आज दिउँसो २ बजे अनलाइन माध्यमबाट सञ्चालन हुनेछ। आह्वान गरिएको ऋणपत्रको रकम बाँडफाँट गर्दा बोलकबोलमा प्रस्तावित ब्याजदरलाई सानोदेखि ठूलो क्रममा राखी आह्वान गरिएको रकमसम्म वा समितिले निर्धारण गरेको बाँडफाँट रकमसम्म कायम हुने ब्याजदरलाई एकल ब्याजदर निर्धारण गरिनेछ। सोही एकल ब्याजदरमा सो दर तथा सोभन्दा कम ब्याजदरमा बोल गर्ने संस्थालाई नेपाल राष्ट्र बैंक ऋणपत्र बिक्री गरिने केन्द्रीय बैंकले स्पष्ट पारेको छ।

यस ऋणपत्र निष्कासनले बजारमा रहेको अतिरिक्त तरलता व्यवस्थापनमा सहयोग पुग्ने राष्ट्र बैंकको विश्वास छ।

तपाईको प्रतिक्रिया