नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडले सातौं वार्षिक साधारण सभा (एजीएम) आह्वान गरेको छ। कम्पनीको पुस २४ गते बसेको सञ्चालक समितिको बैठकले फागुन १ गते सिमरामा आयोजना हुने साधारण सभा डाक्ने निर्णय गरेको हो।

सभाको आयोजना सिमरास्थित होटल श्रेष्ठ रेसिडेन्सीमा अपरान्ह २ बजेदेखि हुने कम्पनीले जनाएको छ। उक्त सभामा कम्पनीको उद्देश्य थप गर्न प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ। साथै, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा नियमनकारी निकायबाट कुनै संशोधन गर्न निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि सभामा प्रस्तुत गरिनेछ।

यस्तै, सभामा सञ्चालक समितिका तर्फबाट आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तुत गरिने वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। साथै, सोही आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदनसहित वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ। चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा प्रस्तुत गरिनेछ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी माघ २२ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यस अनुसार माघ २१ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई कायम रहेका सेयरधनीहरू मात्र उक्त साधारण सभामा सहभागी हुन योग्य हुनेछन्।

तपाईको प्रतिक्रिया