निगालो होटल लिमिटेडले साधारण शेयर (IPO) निष्काशन प्रक्रिया अघि बढाउन विक्री प्रबन्धक (Issue Manager) का रूपमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। यस सम्बन्धी सम्झौतापत्रमा निगालो होटल लिमिटेडका अध्यक्ष श्री टिका राज बराल र मुक्तिनाथ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री कबिन्द्र ध्वज जोशीले एक औपचारिक कार्यक्रममा हस्ताक्षर गर्नुभएको हो। उक्त कार्यक्रममा चार्टर्ड अकाउन्टेन्ट श्री अनिल पौडेलको समेत सहभागिता रहेको थियो।
नगरकोटमा अवस्थित परम्परागत तथा सांस्कृतिक शैलीको वास्तुकलालाई झल्काउने यस चार तारे होटलले आफ्नो जारी पूँजीको २५ प्रतिशत बराबरको १८ लाख ७५ हजार कित्ता साधारण शेयर सर्वसाधारणमा निष्काशन गर्ने तयारी गरेको छ।
कम्पनीका अनुसार निगालो होटलले परम्परागत हेरिटेज अनुभव र आधुनिक आतिथ्य सेवाको संयोजनमार्फत फरक र विशिष्ट पहिचान स्थापित गर्ने लक्ष्य लिएको छ। होटल परिसरभित्र निर्माण गरिएको विशेष भ्यू टावरबाट हिमाल, काठमाडौं, भक्तपुर तथा ललितपुर उपत्यकाको मनोरम दृश्य अवलोकन गर्न सकिने व्यवस्था रहेको छ। यस परियोजनाबाट पर्यटन प्रवद्र्धन, रोजगारी सिर्जना तथा स्थानीय अर्थतन्त्रमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।
हाल सञ्चालनको अन्तिम चरणमा रहेको यस होटलमा ६८ वटा प्रिमियम कोठा (सुइट सहित), ३ वटा बैंक्वेट हल, ३ वटा रेस्टुरेन्ट, बार, स्विमिङ पुल, स्पा, जिम, ध्यान कक्ष, कफी शप, म्युजिक क्लब लगायत अन्य विभिन्न विश्वस्तरीय सुविधाहरू रहनेछन्। साथै, दीर्घकालीन रणनीतिअन्तर्गत उक्त क्षेत्रकै पहिलो क्यासिनो सञ्चालन गर्ने योजना समेत समावेश गरिएको छ। शेयर निष्काशन पश्चात् निकट भविष्यमा पोखरा, काठमाडौं र चितवनजस्ता प्रमुख शहरहरूमा सेवा विस्तार गर्ने दीर्घकालीन योजना अघि सारिएको कम्पनीले जनाएको छ।
कम्पनीका संस्थापक तथा प्रवद्र्धक समूहमा पर्यटन, जलविद्युत्, बैंकिङ तथा शैक्षिक क्षेत्रमा लामो अनुभव हासिल गरेका व्यवसायीहरूको संलग्नता रहेको छ। होटल सञ्चालन २५ वर्षभन्दा बढी अनुभव भएका दक्ष व्यवस्थापकहरूको नेतृत्वमा गरिने कम्पनीले जानकारी दिएको छ। करिब १ अर्ब रुपैयाँ लगानी रहेको यो होटल आगामी चार महिनाभित्र सञ्चालनमा आउने अपेक्षा गरिएको छ।
त्यसैगरी, भारतीय तथा अन्तर्राष्ट्रिय ट्राभल एजेन्सीहरूसँग सहकार्य गरी रणनीतिक रूपमा होटल सञ्चालन गर्ने विषयमा समेत अध्ययन भइरहेको कम्पनीले जनाएको छ।

Online Arthik










